स्वास्थ्यमा सचिव अर्यालको मनपरी: खोप खरिददेखि सचिव बढुवासम्म चलखेल


काठमाडौं ।  स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी लिएर आएसँगै प्रशासन सेवाका सचिव लक्ष्मण अर्यालले आफ्नो स्वार्थ अनुकूल मनपरी ढंगले काम गर्दै आएका छन् ।
केपी ओलीको विश्वासपात्र हुँ भन्ने सचिव अर्यालले स्वास्थ्य मन्त्रालयमा भाडभैलो मच्चाउँदै आएको गुनासो सुनिदै आएको छ ।
खोप खरिदमा बिचौलियासँग मिलेर रोक्ने देखि स्वास्थ्य समूहको प्राविधिक सचिव बन्न नदिन अर्यालले हत्कण्डा अपनाउँदै आएका छन् ।
ओलीसँगको सम्बन्धको हाउगुजी देखाउँदै स्वास्थ्यमा मनोमानी गर्दै आएका अर्यालले आफ्ना बन्धुसमेत रहेका सामान्य प्रशासन सचिव एकनारायण अर्याललाई प्रयोगगरी स्वास्थ्यको प्राविधिक सचिवको दरबन्दीनै लुकाउन लगाएको रहस्य खुलेको छ ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ मा स्वास्थ्यको प्राविधिक सचिव रहने स्पष्ट व्यवस्था हुँदाहुँदै सचिवद्वय अर्याल बन्धु मिलेर अनुचित रुपमा दरबन्दी नै गायब बनाएका थिए ।
अहिले ड्यामेज कन्ट्रोल गर्न मन्त्री परिषद्बाट दरबन्दी क्रियट गर्न लगाएको दाबी गर्न थालेका छन् ।
दरबन्दी देखाए पनि औपचारिक रुपमा स्वास्थ्यमा प्राविधिक आउन नदिन अर्यालले फेरि षडयन्त्र बुन्न थालेका छन् ।
ओम्नी काण्डमा मुछिएका यादव कोइरालाको सरूवा भएपछि २०७७ जेठ १५ गते स्वास्थ्यमा आएका अर्यालले अनेक तिकडम गरेर प्राविधिक सचिव बन्न नदिई मनपरी गरिरहेका छन् । सामान्यबाट दरबन्दी लुकाउन लगाउन सफल उनले फेरि वरिष्ठतामा तलमाथि गरेका छन् । एमाले निकट भएका आधारमा सचिव अर्यालले पक्षपातपूर्ण ढंगले दुई नम्बरमा रहेका दीपेन्द्ररमण सिंहलाई वरिष्ठ बनाएर पहिलो नम्बरमा रहेका रोशन पोखरेललाई अन्यायमा पारेको मन्त्रालयभित्र चर्चा छ ।
उनले काठमाडौ भित्र मात्र बसेका सिंहलाई दुर्गमको नम्बर जोडेर सिनियर बनाएर सिफारिस गरेका छन् ।
कोशी अस्पताल विराटनगरमा बसेका पोखरेललाई भने कम नम्बर दिएको पाइएको छ । काठमाडौं बसेको र बाहिरका जिल्ला बसेकाे नम्बर फरक पर्छ । सिंह बसेको बिकट ठाउँ भनेकाे टेकुमा रहेको स्वास्थ्य सेवा विभाग मात्र हाे । तर सचिव अर्यालले दुर्गमको नम्बर जोडेर सिंहलाई सिनियर बनाएपछि उनको भूमिका शंकास्पद रहेको छ ।
भारतबाट आयत हुने लागेकोकोभिशिल्डको खोपमा पनि सचिव अर्यालले बिचौलिया सुरज वैद्य र विजय दुगडसँग मिलेर कमिसनमा खेल्दा खोप आउन नसकेको तत्कालीन् स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीको सचिवालयका सदस्यहरुको आरोप छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिस्टरमा कार्यरत श्रीमती निता अर्याल पोखरेलले त्यताको चाँजोपाँजो मिलाएको र यता उनले बिचौलियासँग बार्गेनिङ गरेको आरोप लाग्दै आएको छ ।
एमालेको क्याडर देखाउँदै श्रीमतीलाई दिल्ली पोस्टिङ गर्न सफल सचिव अर्यालले स्वास्थ्यमा भाँडभैलो मच्चाउँदै आएपनि कुसैले केही गर्न सकेको छैन ।
सचिव अर्याल ओली सरकार रहेको भए गृहमा जान्थे भन्दै धक्कु लगाउँदै हिड्ने गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ