संघीय संसद् सचिवालयको सचिवमा सुरजकुमार दुरा बढुवा


काठमाडौं। संघीय संसद् सचिवालयको सचिवमा सुरजकुमार दुरा बढुवा भएका छन्। सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको व्यवस्थापन समितिले अनुमोदन गरेसँगै महासचिव पद्मप्रसाद पाण्डेयले दुरालाई सचिवमा नियुक्त गरेका हुन्।

संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काले राजीनामा दिएपछि सचिव पद खाली भएको थियो। खड्काको रिक्त स्थानमा संघीय संसद् सचिवालयको सचिवमा बढुवाका लागि सुरजकुमार दुरा, मनोजकुमार गिरी र हृदयराम महर्जन नाम सिफारिस गरेको थियो। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले दुरा, गिरी र महर्जनको नाम सिफारिस गरेको हो। उक्त सिफारिस अनुसार व्यवस्थापन समितिले दुराको नाम अनुमोदन गरेसँगै उनी संघीय संसद् सचिवालयको सचिवमा बढुवा भएका हुन्।

संघीय संसद् सचिवालयको सचिवमा बढुवा हुनुभन्दा अगाडि दुरा राज्य व्यवस्था तथा सुशासन समितिको सचिवको भूमिकामा थिए। दुराले संघीय संसद् सचिवालयको सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #सुदर्शन खड्का, #सुरजकुमार दुरा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ