संघीय संसद् सचिवालयका सचिवहरूलाई समिति नै ‘प्यारो’

काठमाडौं। संघीय संसद् सचिवालयका सचिवहरूलाई संसदीय समिति नै ‘प्यारो’ देखिएको छ। समितिको सचिवको भूमिकामा सहसचिव रहने भएपनि संघीय संसद् सचिवालयका सचिवहरू समिति कै सचिव बन्न मरिहत्ते गरेर लागेको पाइन्छ।
हालै सचिवमा बढुवा भएका सुरजकुमार दुरादेखि संसद्मा खाइखेली परिपक्व भएका डा. रोजनाथ पाण्डेसम्म समितिको सचिवमै रमाइरहेको पाइन्छ। यसले उनीहरूको हैसियतमाथि समेत प्रश्न उठ्न थालेको छ।
डा. पाण्डे राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सचिवको भूमिकामा देखिन्छन्। जबकी त्यस्ता समितिको सचिव संसद् सेवाको सहसचिव हुनुपर्ने हो। त्यस्तै हालै सचिवमा बढुवा भएका संघीय संसद सचिवालयका सचिव सुरजकुमार दुरा राज्य व्यवस्था तथा सुशासन समितिको सचिवको भूमिकामै रमाइरहेका छन्। सिंगो सचिवालयको सचिव हुनुपर्नेमा उनी एउटा समीतिमा सीमित हुन खोजेका छन्। यद्यपि ‘कुलिङ पिरियड’को बदमासी बाहिर आएपछि समितिको सचिवको जिम्मेवारीबाट हटेको दुराले घोषणा गरेका छन्।
संघीय संसद् सचिवालयको सचिव प्रत्येक समितिको पदेन सदस्य हुने व्यवस्था छ। तर, संसद् सचिवालयका सचिव डा. पाण्डे र दुरा एउटा-एउटा समिति च्यापेर बसेका छन्। यो विषयलाई धेरैले सामान्य प्रशासन मन्त्रालयको सचिव भइसकेको व्यक्ति राष्ट्रिय समावेशी आयोगको सचिव भएको कुरासँग तुलना गर्न थालेका छन्।
प्रदेशको प्रमुख सचिव प्रदेश मन्त्रालयको सचिव बन्न अमिल्दो कुरा जस्तै हो संघीय संसद् सचिवालयको सचिव समितिको सचिव बन्ने विषय। तर, संसद् सचिवालयका सचिवहरू संसदीय समितिको सचिव बनेर कुलिङ पिरियडमा चलखेल गरिरहेको पाइन्छ। यसले पनि संसदीय व्यवस्थामा विकृति निम्त्याइरहेको छ।
ट्याग : #डा. रोजनाथ पाण्डे, #सुरजकुमार दुरा
तपाईको प्रतिक्रिया दिनुहोस