गृहमा शक्तिशाली देखिएका २ पाण्डे सिडिओ


समाचार टिप्पणी

काठमाडौं। गृह मन्त्रालयमा अहिले २ पाण्डेको चर्चा बढी छ। ती हुन् डा. टोकराज पाण्डे र भरतमणि पाण्डे। यी दुई पाण्डेले गृहमा चाहे अनुसारको पाइरहेका छन्। गृह मन्त्रालयमा अहिले पाण्डे बन्धु टोकराज र भरतमणिलाई शक्तिशाली सहसचिव (सिडिओ)का रूपमा हेर्ने गरिन्छ।

गृह छिरेको छोटो समयमै टोकराजले पहिलो सिडिओ नै रुपन्देही पाएका छन्। गृहमा भन्ने गरिन्छ पाए काठमाडौं नपाए रुपन्देही। आर्थिक गतिविधिका हिसाबले त रूपन्देहीलाई सिडिओ बन्ने सहसचिव र मन्त्रालयले १ नम्बरमा राख्ने गरेको छ। त्यहिँ १ नम्बर जिल्लाको सिडिओ बनेर टोकराज गएका हुन्। गृह मन्त्रालयको प्रशासन महाशाखामा गौंडा ढुकेर रूपन्देहीको सिडिओ बन्न पर्खिबसेका छविलाल रिजाललाई ‘जिल्ल’ पार्दै टोकराजले रूपन्देहीको सिडिओ पड्काउन सफल भएका छन्। सुर्खेत, तनहुँ र झापाको सिडिओ बनिसकेका छविलाई छ्क्याउँदै टोकराज सिडिओको पहिलो पस्टिङमा रुपन्देही पुगेका हुन्। पहिलो सिडिओ नै रुपन्देही पाउने टोकराज अपवाद हुन्। त्यसैले उनको शक्ति कति छ भनेर थप चर्चा गरिरहनै परेन।

शाखा अधिकृत हुँदा अधिकांश समय र उपसचिव हुँदा पुरै समय यातायातमा बिताएका टोकराज सहसचिव भएपछि स्थानीय तह, सहकारी विभाग, रक्षा, पर्यटन, यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, अर्थ, हुँदै गृह मन्त्रालय छिरेका थिए। २०५५ साल फागुन १६ गते हुलाकको खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका डा. पाण्डे शाखा अधिकृत र उपसचिव हुँदा एकछत्र रुपमा यातायातमै बिताएका थिए। सहसचिव भएपछि पनि उनी यातायातमै गए। २०३४ साल मंसिर १५ गते स्याङ्जामा जन्मिएका पाण्डेले २१ वर्षको उमेरमै सरकारी सेवामा प्रवेश गरेका थिए। शाखा अधिकृत र उपसचिवमा गृह नबसेर सहसचिव बनेपछि पहिलो सिडिओ नै रुपन्देही पाउनेमा टोकराज भाग्यमानी र शक्तिशाली कर्मचारीमा ‘दर्ज’ भएका छन्।

सहसचिव भएपछि रूपन्देही कलैया उपमहानगरपालिका, काठमाडौं महानगरपालिका, सहकारी विभाग, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, यातायात व्यवस्था विभाग, राष्ट्रिय किताबखाना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, अर्थ मन्त्रालय हुँदै गृह मन्त्रालय छिरेका थिए। गृह मन्त्रालय प्रवेश गर्नेबित्तिकै नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा बसेर रूपन्देही रुपन्देहीको सिडिओ बन्न सफल भएका छन्। सिडिओको अनुभव नै नबटुली ‘क’ वर्गको त्यो पनि रूपन्देहीको सिडिओ बन्ने विरलै सहसचिवमा टोकराज पर्छन्। गृह मन्त्रालय पछिल्लो समय कसरी चलिरहेको छ यो दृष्टान्त नै गतिलो जवाफ हो।

टोकराज जतिकै शक्तिशाली सहसचिव हुन् भरतमणि पाण्डे। उनी सहसचिव भएपछि मकवानपुर, रुपन्देही, कास्की हुँदै भक्तपुरको सिडिओ बन्न सफल भएका छन्। ‘क’बाट ‘क’ वर्गको सिडिओ बनेर भरतमणिले पनि गृहमा आफ्नो शक्ति देखाएका छन्। गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा गृहमा जे पनि हुन्छ भन्ने उदाहरण सिडिओमा पाण्डे बन्धुको ‘पोस्टिङ’ले देखाउँछ। गृह मन्त्रालयमा अहिले सुशासनको ‘स्वर्ण युग’ चलिरहेको चर्चा सुनिन्छ। गृह मन्त्रालय दुई पाण्डेको शक्तिका सामु कसैको तागत देखिँदैन।

क्याटेगोरी : समाचार
ट्याग : #डा. टोकराज पाण्डे, #भरतमणि पाण्डे, #सिडिओ रूपन्देही

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ