गुठी संस्थानका अयोग्य र अनैतिक सञ्चालक दिपकराज पाठकले दिए राजीनामा
काठमाडौं। गुठी संस्थानका ‘अयोग्य’ र अनैतिक सञ्चालक दिपकराज पाठकले पदबाट राजीनामा दिएका छन्। विवादास्पद तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नियुक्त गरेका चरम विवादित पाठकले राजीनामा दिएका हुन्। पाठकले गुठी संस्थानको सञ्चालक समितिको सदस्यबाट राजीनामा दिएको भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता मदन कोइरालाले पुष्टि गरे। पाठकले केही दिन अघि राजीनामा दिएको कोइरालाले बताए।
सर्वोच्च अदालतले योग्यतामाथि प्रश्न उठाउँदै दायर गरेको रिटमा पाठकसहित सञ्चालकहरू टेकराज पौडेल र केशरत्न बज्राचार्यलाई कामकाजका लागि रोक लगाइदिएको छ। अन्तरिम आदेशले ‘होल्ड’ भएका पाठकले यसैबीच राजीनामा दिएर टाप ठोकेका छन्। अनैतिक पाठकले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। तत्कालीन भूमिमन्त्री (पोखराको लिच्चीघारी बगैचाको जग्गामा भ्रष्टाचार मुद्दा लागेकी) रञ्जिता श्रेष्ठले अध्यक्ष बनाउन ठिक्क पारेका पाठकलाई अधिकारीले सदस्य बनाएका थिए।
तत्कालीन भूमिमन्त्री अधिकारीले गुठी संस्थानको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका सहपाठी टेकराज पौडेल र केशरत्न बज्राचार्यले भने राजीनामा दिएका छैनन्। अधिकारीले पाठक, बज्राचार्य र पौडललाई मन्त्रीस्तरीय निर्णयबाट अधिकारीले गुठी संस्थानको सदस्यमा मनोनित गरेका थिए। उनीहरूको योग्यता र नियुक्तिको प्रक्रियालाई लिएर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ।
काण्डै काण्डमा मुछिएका पाठक
गुठीको जग्गा खान खोज्ने पाठकलाई भूमिमन्त्री अधिकारीले २०८१ मंसिर १८ गते मन्त्रीस्तरीय निर्णयबाट गुठी संस्थानको सञ्चालक सदस्यमा नियुक्त गरेका थिए।गुठीको जग्गामा घर बनाएर बिक्री गरेका र गुठीको जग्गामा पूर्जा निकाल्न खोज्दा अदालतबाट मुद्दा हारेका तथा अख्तियारले समेत दर्ता बदर गर्न निर्देशन दिएकाे जग्गा फेरि दाखिल खारेज गरी आफ्नो नाममा पूर्जा बनाउन निवेदन दिने पाठकलाई भूमिमन्त्री अधिकारीले गुठी संस्थान कै चाबी सुम्पिएका थिए।
गुठी संस्थान ऐन, २०३३ को दफा ११ मा संस्थानसँगको ठेक्कामा सरिक रहेको वा संस्थानसँगको कुनै कारोबारमा निजी आर्थिक स्वार्थ निहीत रहेको व्यक्ति गुठी संस्थानको सञ्चालक सदस्य बन्न अयोग्य हुने व्यवस्था रहेको छ। तर, गुठी संस्थानसँग मुद्दा लडेर गुठीको जग्गा खान खोजेका ‘झगडिया’ दिपकराज पाठकलाई भूमिमन्त्री अधिकारीले गुठी संस्थानको सञ्चालक समितिको सदस्यमा मनोनित गरेको देखिन्छ।
असन अन्नपूर्ण गुठीको गुठी तैनाथी कायम हुने साबिक गोंगबु वडा नं. ४ (ग) कित्ता नम्बर १२३९ को ७ आना २ दाम जग्गा पाठकको नाममा दर्ता कायम रहेको देखिएकाले गुठी संस्थानको प्रशासकबाट २०५९ असार २७ गते गुठी संस्थान ऐन २०३३ को दफा ३९(१) प्रयोग गरी उनको नामको दर्ता बदर गरी साबिक बमोजिम उक्त जग्गा गुठी तैनाथीमै दर्ता कायम गर्ने गरी निर्णय भएको थियो। गुठी संस्थानको उक्त निर्णय उपर पाठक तत्कालीन पुनरावेदन अदालत गए। पुनरावेदन अदालतले २०६० जेठ २३ गते गुठी संस्थानको प्रशासकबाट भएको निर्णय सदर गरेको देखिन्छ। तर, उक्त तथ्यलाई लुकाएर पाठकले फेरि दाखिल खारेज गरेर आफ्नो नाममा पूर्जा दिन गुठी संस्थानमा निवेदन दिएको पाइन्छ।
त्यति मात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत २०५७ वैशाख १९ गते उक्त असन अन्नपूर्ण गुठीको जग्गा व्यक्तिको नाममा दर्ता भएको भए दर्ता बदर गरी गुठी तैनाथी कायम गर्न गुठी संस्थानलाई निर्देशन दिएको देखिन्छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०५७ माघ ९ गतेको बैठकले ‘गुठी संस्थान ऐन, २०३३ को दफा ३९ बमोजिम गुठीको जग्गा रैकरमा दर्ता भएको भएना पनि गुठीको जग्गा भन्ने गुठीको श्रेस्ताबाट देखिन आइ प्रमाणित हुन आएमा त्यस्ताे जग्गा गुठीको जग्गामा दर्ता गरिने प्रावधान बमोजिम असन अन्नपूर्ण गुठीको जग्गालाई व्यक्ति विशेषको नाउँमा भएको दर्ता बदर गरी गुठी तैनाथी कायम गर्न गुठी संस्थानलाई लेखी पठाउने’ निर्णय गरेको थियो। उक्त निर्णयमा गुठी तैनाथीको जग्गा पारित गरिदिन नहुनेमा लिखत पारित गरिदिने मालपोत कार्यालय, काठमाडौंका तत्कालीन मालपोत अधिकृत हरिश्चन्द्र पोखरेल, खरिदार वीरबहादुर खड्का कृष्णबहादुर चालिसेलाई विभागीय कारबाही गर्न समेत निर्देशन दिएको थियो।
त्यसपछि गुठी संस्थानले पनि उक्त जग्गा व्यक्ति विशेषको नाउँबाट दर्ता बदर गरेर गुठी तैनाथी कायम भएको पाइन्छ। उक्त निर्णय उपर पाठक पुनरावेदन अदालत, पाटन गएको र पुनरावेदनले पनि गुठी संस्थान कै निर्णयलाई सदर गरिदिएको देखिन्छ। त्यसको २० वर्षपछि पाठकले फेरि असन अन्नपूर्ण गुठीको गुठी तैनाथी जग्गा २०५३ साल वैशाख २५ को मितिमा भएको लिखत पारित अनुसार दाखिल खारेज गरी आफ्नो नाममा पूर्जा उपलब्ध गराउन भन्दै २०८० फागुन २२ गते गुठी संस्थानमा निवेदन दिएको देखिन्छ।
अदालत र अख्तियारबाट समेत बदर भइसकेको गुठीको जग्गा दाखिल खारेज गरी आफ्नो नाममा पूर्जा दिन निवेदन दिने पाठकलाई भूमि व्यवस्थामन्त्री अधिकारीले डेढ महिनापछि २०८१ वैशाख ७ गते गुठी सम्बन्धी कानुन निर्माण गर्ने विज्ञमा मनोनित गरेर पुरस्कृत गरेको पाइन्छ।
असन अन्नपूर्ण गुठीको गुठी तैनाथी जग्गा मात्र होइन पशुपति गुहेश्वरी फूल चढाउने गुठीको गुठी तैनाथी जग्गा समेत मोही बनेर खाएका नुवाकोटे पाठक भूमिमन्त्री अधिकारीको नजरमा गुठी सम्बन्धी विज्ञ नहुने कुरै भएन। उनैलाई खोजेर/रोजेर भूमिमन्त्री अधिकारी गुठी संस्थान सञ्चालक समितिको सदस्य बनाएका हुन्।
२०३० साल असारमा नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ४ सुन्दरादेवी (तत्कालीन सुन्दरादेवी गाउँ विकास समिति)मा जन्मिएका पाठक साबिक गोलढुंगा २ (क) (हाल तारकेश्वर नगरपालिका वडा नम्बर ४)को कित्ता नम्बर ६७८ मा रहेका ८ आना गुठीको जग्गामा मोही बन्न सफल भए।
समाजशास्त्र स्नाकोत्तर पढ्दै गरेका पाठक प्राप्त नगरेको प्रमाणपत्रलाई व्यक्तिगत विवरणमा समेटेर चलाखीपूर्ण काम गरेका छन्। गुठी जग्गालाई स्वत: रैतानी गर्नुपर्छ भन्ने नेकपा एमाले निकट भूमि अधिकार मञ्चमा बसेर काम गरेका पाठक गुठी संस्थानमा बसेर त्यस्तै प्रकृतिको कानुन बनाउन सक्रिय थिए।
गुठी संस्थान ऐन, २०३३ दफा २५ (३) मा २०३५ सालभन्दा अगाडि उक्त प्रकृतिको गुठीको जग्गामा घर बनाई आफ्नो नाममा धारा, बत्तीलगायतको जडान गरेर बसेको भए १५ प्रतिशत र २०३५ देखि २०४१ सालबीचमा त्यसरी बसेको भए २५ प्रतिशत राजस्व तिरेर मोही कायम हुन सक्ने व्यवस्था थियो। २०३५ सालमा ५ वर्ष र २०४१ सालमा ११ वर्ष रहेका नुवाकोटे पाठक कसरी मोही कायम भए यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै खोज्नु पर्ने विषय हो।
हिसिला यमीलाई प्रयोग गरेर गुण्डागर्दी
साविक गोलढुंगा २ (क) (हाल तारकेश्वर नगरपालिका वडा नम्बर ४)को कित्ता नम्बर ६७८ मा रहेका ८ आना गुठीको जग्गामा मोही बन्नका लागि पाठकले भूमि सुधारमन्त्री समेत भएकी तत्कालीन माओवादी नेतृ हिसिला यमी निकट भएका थिए। त्यहिँ क्षेत्रबाट पहिलो संविधानसभा निर्वाचित हिसिलालाई देखाएर पाठकले गुठीको जग्गा खान गुण्डागर्दी गर्न थाले। गुठी तैनाथी जग्गामा मोही बन्नका लागि पाठकले हिसिलामार्फत गुठी संस्थानका कर्मचारीलाई निरन्तर दबाब दिन थाले। २०६८ साल चैतमा गुठीको जग्गामा मोही नबनाएको झोंकमा दलबलसहित गुठी संस्थानको केन्द्रीय कार्यालय पुगेका पाठकले हेल्मेटले हानेर नायब सुब्बा कृष्णहरि भट्टराईलाई गम्भीर घाइते बनाए। त्यसको दुई महिनापछि (२०६९ जेठमा) पाठक पशुपति गुहेश्वरी मन्दिरको फूल चढाउने गुठीको मोही बनेरै छाडे। पाठकसहित उनका ८ जना नातेदार गुठीको जग्गा हत्याउन सफल भएको पाइन्छ।
मोही बनेर हडपेको गुठीको उक्त जग्गामा पाठकले घर बनाएर बेचिसकेका छन्। उक्त घर बेचिसकेको पाठकको दाबी छ। स्रोतका अनुसार पाठकको घर नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिवराज अधिकारीलाई बेचेका हुन्। उक्त घरमा अधिकारीका आफन्त बस्दै आएका छन्।
एमाले बनेर गुठी संस्थानको सञ्चालक सदस्य
रञ्जिता श्रेष्ठ भूमि व्यवस्थामन्त्री हुँदा पाठक झन्डै गुठी संस्थानको सञ्चालक समिति अध्यक्ष भइसकेका थिए। गलत व्यक्तिलाई गुठी संस्थान अध्यक्ष बनाउन लागेको थाहा पाएपछि डिल्लीबजार कारागारबाटै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हस्तक्षेप गरेपछि पाठकको गुठीमा जाने सपना चकनाचुर भयो। उनी हेरेको हेऱ्यै भए। त्यसपछि उनी एमालेसँग नजिकिँदै गए। भूमि व्यवस्थामन्त्रीको जिम्मेवारीमा बलराम अधिकारी आएपछि उनको निकटता बढ्न थाल्यो। नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीका साढूभाइ नाता पर्ने पाठकले रञ्जिताको पालामा पूरा हुन नसकेको गुठी संस्थानको सञ्चालक अध्यक्ष हुने सपना अधिकारीको पालामा सदस्य भएर चित्त बुझाए। मन्त्रीस्तरीय निर्णयबाट अधिकारीले २०८१ मंसिर १८ गते पाठकलाई गुठी संस्थानको सञ्चालक समितिको सदस्यमा मनोनित गरेका थिए।
गुठी संस्थानका पूर्वअध्यक्ष समेत रहेका ज्ञवाली हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण पौडेलका प्रमुख राजनीतिक सल्लाहकार हुन्। प्रतिनिधिसभाको २०७९ निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट तर्फबाट चुनाव लडेर हारेका ज्ञवालीको विशेष निगाहमा पाठक गुठी संस्थानको सदस्य बन्न सफल भएको पाइन्छ। बामदेव गौतमका बहिनीज्वाइँ र नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीका कान्छा भाइ नेकपा एमाले बर्दियाका इन्चार्ज ज्ञवालीले पाठकको योग्यता नै चाँजेर गुठी संस्थानको सञ्चालक सदस्य बनाउन भूमिका खेलेको चर्चा छ।
राजीनामा दिएर हिँडेका पाठकको मनोनयनदेखि गुठी जग्गा दर्तासम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन दायरामा ल्याउन जरूरी देखिन्छ। गुठी संस्थानको सञ्चालक नै भइसकेकाले पाठकमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले समेत छानबिन प्रक्रिया अघि बढाउन जरूरी देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #दिपकराज पाठक


तपाईको प्रतिक्रिया दिनुहोस