भूमिमन्त्री इङनामले पूर्वसहकर्मी भण्डारीलाई बनाए गुठी संस्थानको सदस्य
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा. डा. कुमार इङ्नामले पूर्वसहकर्मी शान्ता भण्डारी श्रेष्ठलाई गुठी संस्थानको सञ्चालक सदस्य नियुक्त गरेका छन्। मन्त्रीस्तरीय निर्णयबाट उनले शान्तालाई गुठी संस्थानको सदस्यमा मनोनित गरेको मन्त्री निकट स्रोतले स्वास्थ्य लाइभलाई बतायो।
कानुनमा ‘एलएलएम’ गरेकी भण्डारी काठमाडौं स्कूल अफ ल (केएसएल)की ‘एसिस्टेन्ट प्रोफेसर’ हुन्। ‘केएसएल’ कै प्रोफेसर रहेका भूमिमन्त्री इङनामले पूर्वसहकर्मी भण्डारीलाई गुठी संस्थानको सञ्चालक सदस्यमा मनोनित गरेका हुन्। इङ्नाम भूमिमन्त्री बन्नु अघि केएसएलका प्राध्यापक थिए। उनी मन्त्री भएपछि केएसएलमा आफू मातहतमा रहेर काम गर्ने शान्तालाई गुठी संस्थानको सदस्यमा मनोनित गरेका हुन्।

नेपाल सरकारले देशका धार्मिक, सामाजिक क्षेत्रबाट मनोनित गरेका गुठी सम्बन्धी अनुभव प्राप्त व्यक्ति गुठी संस्थानको सञ्चालक समिति सदस्य हुने गुठी संस्थान ऐन, २०३३ को दफा ९ (१), (च) मा व्यवस्था छ। तर, भूमिमन्त्री इङनामले मन्त्रीस्तरीय निर्णयबाट केएसएलमा कानुन पढाउने भण्डारीले गुठी संस्थानको सदस्यमा मनोतित गरेका हुन्। कानुन पढाउँदैमा गुठी सम्बन्धी अनुभव प्राप्त व्यक्ति भन्न मिल्दैन। उनको योग्यता उचित परीक्षण हुन जरुरी छ।
पर्यटनमन्त्री अनिलकुमार सिन्हाले आफ्नै सहपाठी प्रकाशमणि शर्मालाई पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव मनोनित गरेपछि उनको सिको गर्दै इङनामले पनि पूर्वसहकर्मी भण्डारीलाई गुठी संस्थानको सदस्यमा मनोनित गरेका हुन्।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका भूमिमन्त्री बलराम अधिकारीले सहपाठी टेकराज पौडेलको गुठी संस्थानको सञ्चालकमा मनोनित गरेका थिए। उनको योग्यताको विषयमा पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। कपिलवस्तुका बलरामसँगै स्कूल पढेका (सहपाठी) पौडेललाई मन्त्री भएपछि उनले गुठी संस्थानको सदस्यमा मनोनित गरेका थिए। बलराम मन्त्रीबाट हटेपछि र अदालतको चेपुवामा परेपछि टेकराजले पनि राजीनामा दिएर टाप ठोकेका छन्। शान्ताको विषयमा थप कुरा खुल्नै बाँकी छ।
गुठी संस्थानका अन्य सदस्यमा कालीदास देवकोटा सिन्धुली र विकास शाक्य काठमाडौंलाई मनोनित गरिएको छ। गुठी संस्थान ऐन, २०३३ को दफा ११ मा संस्थानसँगको ठेक्कामा सरिक रहेको वा संस्थानसँगको कुनै कारोबारमा निजी आर्थिक स्वार्थ निहीत रहेको व्यक्ति गुठी संस्थानको सञ्चालक सदस्य बन्न अयोग्य हुने व्यवस्था रहेको छ। उक्त विषयमा उचित परीक्षण हुनुपर्छ। मनोनित भएका तीनैजना सदस्य स्नाकोत्तर गरेका हुन्। तर, धार्मिक, सामाजिक क्षेत्रमा उनीहरूले गरेको योगदान र अनुभवको विषयमा भने आवश्यक परीक्षण भएपछि मात्र एकिन गर्न सकिन्छ।
क्याटेगोरी : समाचारट्याग : #कुमार इङनाम, #शान्ता भण्डारी


तपाईको प्रतिक्रिया दिनुहोस