दलीय ट्रेड युनियनका नेता नायब सुब्बाहरू उपत्यका बाहिर दुर्गममा पठाइए
काठमाडौं। दलीय ट्रेड युनियनका कर्मचारी नेता नायब सुब्बाहरू उपत्यका बाहिर पठाइएका छन्। गृह मन्त्रालयले दलीय ट्रेड युनियनका नेता सुब्बा’साबहरूलाई काठमाडौं उपत्यका बाहिर पठाएको हो।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तमकुमार कटुवाललाई बैतडीको इलाका प्रशासन कार्यालय, पुरचौडीमा सरूवा गरिएको छ। कृषि मन्त्रालयको आकर्षक मानिने राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, त्रिपुरेश्वरबाट गृह मन्त्रालय सरूवा भएको थियो। कटुवाललाई उपत्यका बाहिर पठाइएको हो।

नेपाली कांग्रस निकट नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव गणेश भण्डारीलाई खोटाङको इलाका प्रशासन कार्यालय, ऐंसेलुखर्कमा सरुवा गरिएको छ। युनियनका उपाध्यक्ष श्रीराम लम्साललाई हुम्लास्थित अध्यागमन कार्यालय, हिल्सा पठाइएको छ। युनियनका सचिव प्रकाश भट्टराईलाई पर्वतको इलाका प्रशासन कार्यालय, हुवास सरूवा गरिएको हो।
नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीलाई बैतडीको इलाका प्रशासन कार्यालय, मेलौलीमा सरूवा गरिएको हो।
स्वतन्त्र निजामती कर्मचारी अभियानको संयोजक घोषणा गरेर हिँडेका पशुपति पोखरेल मुस्ताङको इलाका प्रशासन कार्यालय, लोमाङथाङ पठाइएका छन्।
नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका सचिवालय सदस्य उमेश पराजुलीलाई डोल्पाको इलाका प्रशासन कार्यालय, धोमा सरूवा गरिएको छ। उक्त संगठनका नेता बामदेव ओलीलाई खोटाङको इलाका प्रशासन कार्यालय ऐंसेलुखर्क पठाइएको हो।
माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका पूर्वअध्यक्ष हरिबहादुर रावललाई डोटीको इलाका प्रशासन कार्यालय विपिननगर पठाइएको छ। गृहले ठूलो संख्यामा खारेज भएका दलीय ट्रेड युनियनका नेताहरूलाई दुर्गममा पठाइएको हो।


तपाईको प्रतिक्रिया दिनुहोस