सहसचिवको दरबन्दी रहेका ४ जिल्लामा उपसचिव सिडिओ, पिछडिएको क्षेत्रबाट लाभ लिएका शाही गृहमा
काठमाडौं। सहसचिवको दरबन्दी रहेका ४ जिल्लामा उपसचिवले कमाण्ड सम्हालिरहेका छन्। सहसचिवको दरबन्दी रहेका जुम्ला, अछाम र डोटीमा उपसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका छन्। डडेल्धुरामा पनि उपसचिवले निमित्त सिडिओ भएर चलाइरहेको पाइन्छ।
सहसचिवको दरबन्दी रहेको जुम्लामा उपसचिव दिपक पौडेल ६ महिना बढीदेखि सिडिओ चलाइरहेका छन्। सहसचिवले सिडिओ चलाउनु पर्ने ठाउँमा गृह मन्त्रालयले उपसचिव पठाएर उक्त ठाउँमा सहसचिवको दरबन्दी राखेको औचित्यमाथि प्रश्न उठाइदिएको छ। उक्त दरबन्दीमा सहसचिव बढुवा गराएर गृहले उपसचिवलाई सिडिओ खटाएको हो।
सहसचिवको दरबन्दी रहेको अछाम जिल्लामा पनि उपसचिव सिडिओ रहेका छन्। गृह मन्त्रालयले यज्ञबहादुर बुढालाई अछामको सिडिओमा खटाएको ६ महिना बढी भइसकेको छ। उक्त ठाउँमा गृहले दरबन्दी अनुसार सहसचिव खटाउन सकेको छैन।
सहसचिवको दरबन्दी रहेको डोटीमा पनि उपसचिव कल्पना घिमिरे नेपाललाई सिडिओ खटाइएको छ। अछामभन्दा पहिला नै सहसचिवको दरबन्दी राखिएको डोटीमा गृह मन्त्रालयले लामो समयदेखि उपसचिवलाई सिडिओ खटाउँदै आएको छ। कानुन बमोजिम एक वर्षभन्दा बढी समय सहसचिव खटाउन नसक्दा डोटीमा सहसचिवको दरबन्दी स्वतः खारेज हुनुपर्ने हो। तर, उक्त दरबन्दी अझै कायम देखिन्छ। कल्पनाभन्दा पहिला उपसचिव मोहनराज जोशी एक वर्ष बढी डोटीको सिडिओ भएर बसेका थिए। त्यसपछि डोटीको कमाण्ड सम्हाल पुगेकी कल्पना पनि ६ महिना बढी बिताइसकेकी छिन्।
डडेल्धुराको सिडिओ पनि एक महिना बढीदेखि निमित्तको भरमा चलिरहेको छ। डडेल्धुराका सिडिओ विष्णुप्रसाद कोइरालाको कोशी प्रदेशमा सरूवा भएपछि अमरबहादुर वलीले निमित्त सिडिओ भएर चलाइरहेका छन्।
गृह मन्त्रालयमा ४ जिल्लाको सिडिओ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा नेतृत्व खाली छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका प्रमुख नरहरि घिमिरे ललितपुरको सिडिओ भएपछि उक्त ठाउँ पनि रिक्त देखिन्छ।
लक्ष्मी पाण्डेय गौतम, कृष्ण पौडेल, प्रदिपकुमार कोइराला, बलराम निरौला, पुष्पराज शाही र भूपेन्द्र थापा गृहमा सरूवा भएका छन्। सहसचिव निराजन घिमिरे लामो समयदेखि गृह मन्त्रालयमै हल्लिरहेका छन्।
लक्ष्मी पाण्डेय गौतम निजामती किताबखानाको उपमहानिर्देशकबाट गृह पुगेकी हुन्। रक्षा मन्त्रालयबाट कृष्ण पौडेल, कृषिबाट प्रदिपकुमार कोइराला र वनबाट भूपेन्द्र थापा गृह पुगेका छन्। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशक रहेका पुष्पराज शाही र कम्पनी रजिष्ट्रारको जिम्मेवारीमा रहेका बलराम निरौला पनि गृह मन्त्रालय पुगेका छन्। कम्पनी रजिष्ट्रारमा भने उद्योग मन्त्रालयले कृष्णकुमारी श्रेष्ठलाई खटाइसकेको छ।
नायब सुब्बा, शाखा अधिकृत र उपसचिवमा पिछडिएको क्षेत्रको कोटा प्रयोग गरेर पुष्पराज शाही गृह मन्त्रालय भित्रिएका छन्। अछाम र जुम्ला पिछडिएको क्षेत्रका जिल्ला हुन्। जाजरकोटका शाहीलाई पिछडिएको क्षेत्रको सिडिओमा खटाउँदा आरक्षणको सदुपयाेग हुने देखिन्छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमै कार्यरत रहँदा खुला प्रतिस्पर्धाबाट सहसचिव भएका कृष्ण पौडेल पनि गृहमा भित्रिएका छन्। प्रदिप कोइराला, बलराम निरौला, लक्ष्मी पाण्डेय, भूपेन्द्र थापा गृहमा भित्रिएकाले सहसचिवको दरबन्दी भएका जिल्लामा सिडिओ खटाउन सहज देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस