प्रतिष्ठानमा वैशाखमा १४४ जनाको मुख तथा अनुहारसम्बन्धी शल्यचिकित्सा


दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा चालु आर्थिक वर्षको वैशाख महिनाभित्र मुख तथा अनुहारसम्बन्धी १४४ जना बिरामीको सफल शल्यचिकित्सा गरिएको छ।

मुख तथा अनुहार शल्यचिकित्सक डा. निरोज खनाल तथा दन्तरोग विशेषज्ञहरू डा. लोचना आचार्य, डा. आश्मा ओझा, डा. शुभेच्छा पाण्डे, डा. अश्मी वराल, डा. करिष्मा भण्डारी र डा. आकृति खड्गासहित नर्स तथा स्वास्थ्यकर्मीको टोलीले दाँत, मुख तथा अनुहारसम्बन्धी शल्यक्रिया गर्दै आएको छ।

प्रतिष्ठानका अनुसार वैशाख महिनामा दन्त विभागको ओपिडीबाट ८९२ जना बिरामीले दाँतसम्बन्धी उपचार सेवा प्राप्त गरेका छन्। तीमध्ये ४५३ जना नयाँ बिरामी रहेका छन्।

उपचार सेवा लिनेमध्ये सामान्य तथा जरैदेखि उपचार गराउने १३२ जना, कृत्रिम अस्थायी तथा स्थायी दाँत लगाउने ४८१ जना, बाङ्गाटिङ्गा दाँत मिलाउने १५१ जना, दाँत सफा गर्ने २५१ जना तथा बालबालिकाका दूधे दाँतको उपचार गराउने ३५१ जनाले सेवा लिएका छन्।

त्यस्तै मुख तथा अनुहार शल्यचिकित्साअन्तर्गत गम्भीर प्रकृतिका ५ जना, सामान्य शल्यक्रियाका ६३ जना तथा दाँत निकाल्ने सेवा लिने ७६ जना रहेका छन्।

साथै दन्त विभागले विगत एक वर्षदेखि विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा दाँत तथा मुखसम्बन्धी रोगबारे जनचेतना फैलाउने उद्देश्यले दन्त शिविर सञ्चालन गर्दै आएको छ।

यसैबीच अत्याधुनिक दाँत तथा मुखको सिटी स्क्यान गर्ने मेसिन आएपछि दन्त उपचार सेवा थप प्रभावकारी बन्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आपूर्ति महाशाखाले दाँतसहित मुखको सिटी स्क्यान गर्न सकिने सीबीसीटी (CBCT) मेसिन प्रतिष्ठानमा उपलब्ध गराएको हो।

प्रतिष्ठानका निमित्त उपकुलपति डा. सुरेश रसाइलीका अनुसार सीबीसीटी मेसिन पश्चिम नेपालमै पहिलो पटक प्रतिष्ठानमा जडान गरिएको हो। यस मेसिनले दाँत तथा मुखको सिटी स्क्यानका लागि दाङ बाहिर जानुपर्ने बिरामीको बाध्यता हटाउने अपेक्षा गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ