पदमुक्त भएको ‘मसी सुक्न नपाउँदै’ पशुपति क्षेत्र विकास कोषमा जागिर खाने दौडधुपमा निवर्तमान पदाधिकारी
काठमाडौं। बालेन सरकारले अध्यादेश ल्याएर पदमुक्त गरेका पशुपति क्षेत्र विकास कोषका पूर्वपदाधिकारी फेरि कोषमै फर्किन दौडधुपमा लागेका छन्। कोषका निर्वतमान सदस्यचिव, कोषाध्यक्ष र कार्यकारी निर्देशक कोषमै नियुक्ति खाने दौडधुपमा लागेका हुन्।
सत्तामा आदर्शकुमार श्रेष्ठको हालिमुहाली चल्दा पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बनेका प्रकाशमणि शर्मा भुसाल कोषमा छिर्ने दाउमा रहेका छन्। उनले अहिले सदस्यसचिव नभइ सञ्चालन परिषद् सदस्यमा आवेदन दिएको पाइन्छ।
पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष पदमुक्त भएका श्रीधर सापकोटा फेरि कोषाध्यक्षमै फर्किन खोजेका छन्। कोषाध्यक्ष नभेटे सञ्चालक परिषद् सदस्यमै भएपनि चित्त बुझाउने अवस्था रहेको उनले हालेको आवेदनबाट अनुमान लगाउन सकिन्छ।
कोषको कार्यकारी निर्देशकबाट पदमुक्त भएका सुभाषचन्द्र जोशी सदस्यसचिव बन्ने दाउमा छन्। माओवादी सत्तामा रेणु दाहालको आर्शिवादमा कोषको कार्यकारी निर्देशक बनेका जोशाले निमित्त सदस्यसचिवको स्वाद चाखिसकेका छन्। त्यसको एकुन्द्रो मेट्न जोशीले सदस्यसचिव पदमा आवेदन दिएको पाइन्छ।
प्रकाशमणिको टिमले सल्लाहकार बनाउन खोजेका सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले पनि पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा दाबी प्रस्तुत गरेका छन्। आवेदन दिएका उनी कोषको सदस्यसचिव बन्न दौडधुपमा लागेको चर्चा चल्न थालेको छ।
समाज कल्याण परिषद्का सदस्यसचिवबाट पदमुक्त भएका सरोजकुमार शर्माले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बन्न दौडधुप गरिरहेका छन्। कोषको सदस्यसचिव शर्मा आवेदन परेको देखिन्छ।
पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक घनश्याम खतिवडाको पनि सदस्यसचिवमा आवेदन परेको छ। कोषका पूर्व कानुनी सल्लाहकार अधिवक्ता गणेशबहादुर खत्री ( गणेश केसी)ले पनि पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बन्न आवेदन दिएका छन्।पुरात्त्व विभागका पूर्वमहानिर्देशक दामोदर गौतमदेखि उपसचिवबाट अवकाश प्राप्त टेकराज पन्थीले समेत पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बन्न आवेदन दिएका हुन्।
बासुदेव कोइराला, (बासुदेव कृष्ण शास्त्री), श्रीवास कृष्णदास ब्रह्मचारी, मुकुन्द शर्मा हुमागाईंले पनि सदस्यसचिवमा दाबी प्रस्तुत गरेका छन्। पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद् सदस्यबाट अयोग्य भएर पदमुक्त भएका देवीप्रसाद बरालले पनि सदस्य सचिवमा आवेदन दिएका हुन्। सर्वोच्च अदालतको आदेशबाट सञ्चालन परिषद् सदस्यको पद गुमाएका बराल सदस्यसचिव बन्न दौडधुपमा लागेको पाइन्छ।
पशुपतिस्थित भण्डारी गुठीको मुल भण्डारीबाट बर्खास्त भएका केदार मान भण्डारीले पनि पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवमा आवेदन दिएका छन्। पशुपति क्षेत्र विकास कोषका पदाधिकारीमाथि विद्युतीय गालीगलौज गरेर उनी फौजदारी अभियोगमा पक्राउ समेत परेका थिए। त्यसपछि भण्डारी गुठीको मुल भण्डारीबाटै हटाइएका केदार मान भण्डारी पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बन्न तीव्र दौडधुपमा लागेका हुन्।
सहसचिवबाट अवकाश प्राप्त कुमार दाहाल, उज्ज्वल कुमार झा, राम शोभित नायक, सुरेशकुमार कार्की, सन्तोष पुरी, धना रिमाल, शिवकुमार कार्की, विशाल अधिकारी, गोमादेवी कुँवर, सागर ढकाल, आस्मा बास्तोला र खग्रेन्द्र सुवेदी पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बन्न आवेदन दिनेमा पर्छन्।
विष्णुप्रसाद सुवेदी, दिवकार पन्त, भेषराज आचार्य, गंगाप्रसाद यादव, भागवत ढकाल, सुमन सापकोटा, पारसकुमार पोखरेल, रेसु खतिवडा, त्रिलोचन पौडेल, सम्भुहरि बास्तोला, कुलप्रसाद राई, अनमिका गिरी,जयकान्त झा, अनिल थारू, अर्जुनप्रसाद बाँस्तोला, विष्णुप्रसाद पौडेल, मक्कर नेपालीलगायत ठूलो संख्यामा पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बन्न आवेदन दिएको मन्त्रालय स्रोतले जनाएको छ।
पशुपति क्षेत्र विकास कोष जस्तो संवेदनशील निकायमा सदस्यसचिव र कोषाध्यक्ष मात्र होइन सञ्चालक परिषद् सदस्य नियुक्त गर्दा पनि सरकारले विशेष ध्यान दिनुपर्छ। विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरूलाई कोषको सञ्चालक परिषद् सदस्यमा मनोनित गर्न सके मात्र पशुपति क्षेत्र विकास कोषको ओज बढ्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस