जाँदै नजाने वीर अस्पतालको दरबन्दीमा अतिरिक्त सचिव बढुवाका लागि सिफारिस


काठमाडौं। जाँदे नजाने वीर अस्पतालको अतिरिक्त सचिव (बाह्रौं) तहलाई देखाएर बढुवाका लागि डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस भएको छ। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले डा. देवकोटा र शर्मालाई अतिरिक्त स्वास्थ्य सचिवमा बढुवाका लागि सिफारिस गरेको हो। बढुवा समितिकी सदस्य डा. किरण रेग्मी र स्वास्थ्य सचिव डा. विकास देवकोटाको जोडबलमा डा. सुधालाई १ नम्बरमा सिफारिस गरेको चर्चा चल्न थालेको छ। उक्त प्रस्ताव मन्त्रिपरिषद्मा भने पुगिसकेको छैन।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अहिले अतिरिक्त सचिवको दुई वटा दरबन्दी रहेको छ। स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पनि अतिरिक्त सचिवको दरबन्दी छ। अहिले स्वास्थ्य सेवा विभागको महानिर्देशकको भूमिकामा डा. केशरबहादुर ढकाल रहेका छन्। उनको जागिर असार ४ गतेसम्म चोखै देखिन्छ। स्वास्थ्य मन्त्रालयको अतिरिक्त दुई पदमा एउटा पनि रिक्त छैन। अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेकी मात्र हुन्। मिश्रा निलम्बनमा परेकाले उनको पद रिक्त भएको मानिँदैन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा डा. श्रीकृष्ण श्रेष्ठ अतिरिक्त सचिवको हैसियतमा कार्यरत छन्। यसरी हेर्दा अहिले अतिरिक्त सचिवमा सिफारिस भएका डा. सुधा र डा. शर्मा वीर अस्पतालको दरबन्दीमा सिफारिस भएका हुन्।

अतिरिक्त सचिव डा. टंक बाराकोटी राजीनामा दिएर गएपछि खाली भएको दरबन्दीमा सिफारिस गरिएको भनिएतापनि बालेन सरकारको अनावश्यक र औचित्यहीन दरबन्दी कटौती गर्ने नीतिविपरीत अतिरिक्त सचिवको बढुवा सिफारिस भएको छ। यस्तो बेथितिपूर्ण सिफारिसलाई बालेन सरकारले ‘होल्ड’ गर्न आवश्यक छ।

संघीय मन्त्रालयहरू ‘मर्ज’ भएपछि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गर्नै बाँकी छ। ओएन्डएम नभैसकेकाले बालेन सरकारले प्रशासन तर्फका सचिवहरूको बढुवा समेत रोकेको छ। यस्तो अवस्थामा आश्चर्यजनक ढंगले स्वास्थ्य सेवाको अतिरिक्त सचिवमा बढुवा सिफारिस भएको हो।

भानुभक्त ढकाल स्वास्थ्यमन्त्री भएका बेला तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दबाबमा वीर अस्पताल अतिरिक्त सचिवको दरबन्दी सिर्जना गरेर डा. गुणराज लोहनीको बढुवा गरिएको थियो। पार्टीको स्वास्थ्य विभागमा ‘जिआर’ लोहनी भनेर सदस्य बनेका उनलाई अतिरिक्त सचिव बनाउन कै लागि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले वीर अस्पतालमा बाह्रौं तहको दरबन्दी सिर्जना गरेको थियो। उक्त पदमा डा. लोहनी बढुवा पनि भए तर उनी वीर अस्पतालमा गएनन्। नेकपाकालको विकृत दरबन्दीमा अहिले अतिरिक्त सचिवमा बढुवाका लागि सिफारिस गरिएको हो। यो सरकारको अनावश्यक दरबन्दी कटौती गर्ने नीतिविपरीत देखिन्छ।

वीर अस्पताललाई देखाएर अतिरिक्त सचिवमा बढुवा हुने तर वीरमा जाँदै नजाने प्रवृत्ति हुँदाहुँदै फेरि त्यहिँ पद देखाएर बढुवाको सिफारिस गरिएको छ। प्रशासनको सचिव बढुवा ‘होल्ड’ गरेको बालेन सरकारले स्वास्थ्यको अतिरिक्त सचिव बढुवालाई पनि होल्ड गर्दा उपयुक्त हुन्छ।

अस्पताललाई आवश्यक पर्ने चिकित्सकलगायत आवश्यक जनशक्ति थप्नु पर्छ। स्वास्थ्यकर्मी तथा चिकित्सकहरू प्रयाप्त नहुँदा जनताले उचित स्वास्थ्य सेवा पाउन सकेका छैनन्। त्यस्ता निकायमा तत्काल ओएन्डएम गरेर आवश्यक जनशक्ति लिनुपर्छ। तर माथिल्लो तहमा अनावश्यक दरबन्दी राखेर राज्यकोषको ‘लुटपाट’ गर्ने अवस्थाको अत्यन्त गर्न जरूरी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ