काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन


काठमाडौं। काठमाडौँ विश्वविद्यालयको १०१ औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मङ्गलवार सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।

गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहेका छन् । समितिमा रेशु अर्याल ढुंगाना र प्रा.डा. सुरेशराज शर्मालाई सदस्यमा राखिएको छ । ढुंगाना राष्ट्रिय योजना आयोगको सदस्य र शर्मा काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति हुन्।

समितिले उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूको छनोट गरी सिफारिस गर्नेछ । यससँगै विश्वविद्यालयमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ ।काठमाडौँ विश्वविद्यालयले शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । नयाँ उपकुलपति नियुक्तिसँगै विश्वविद्यालयको भावी शैक्षिक तथा संस्थागत विकासको दिशाबारे थप अपेक्षा गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ