लगातार सिडिओ खाइरहेका सहसचिवद्वय रुद्रादेवी शर्मा र मेखबहादुर मंग्राती
काठमाडौं। लगातार प्रमुख जिल्ला अधिकारी (सिडिओ) खाइरहेका सहसचिवद्वय रूद्रादेवी शर्मा र मेखबहादुर मंग्रातीले नयाँ जिल्लाको कमाण्ड पाएका छन्। शर्मा कास्कीबाट धनकुटाको सिडिओ सरुवा भएकी छिन्। यता मंग्राती भने ओखलढुङ्गाबाट उदयपुर झरेका छन्। दुवै जनाले आरक्षणमा ‘ह्याट्रिक’ हानेका हुन्।
२०८२ जेष्ठ २० गते कास्कीको सिडिओमा हाजिर भएकी शर्मा ठ्याक्कै एक वर्ष कास्कीको कमाण्ड सम्हालेर धनकुटा पुगेकी हुन्। धनकुटाका सिडिओ विनोदबहादुर खड्काको भक्तपुर सरुवा भएपछि शर्मा धनकुटा पुगेकी हुन्। शर्मा यसअघि नै भक्तपुरको सिडिओ भइसकेकी छिन्। रुद्रादेवी शर्मा रामेछाप, गुल्मी, भक्तपुर, काभ्रेपलाञ्चोक, बर्दिया हुँदै कास्कीको सिडिओ बनेकी थिइन्। शर्माले सातौं जिल्लाको रूपमा धनकुटाको कमाण्ड सम्हादैछिन्।
२०८२ भाद्र १६ गते ओखलढुङ्गाको सिडिओ बनेका मंग्राती ९ महिनापछि सिडिओको रूपमा उदयपुर सरुवा भएका छन्।
बाग्लुङको सिडिओ हुँदा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका कुमान सिंह गुरुङ विशेष अदालतबाट सफाइ पाएर आएलगत्तै कास्कीको सिडिओ भएका छन्। कास्की सिडिओका लागि आकर्षक जिल्ला हो। उनले सिडिओको रूपमा कमाण्ड सम्हालेको उदयपुर पाँचौ जिल्ला हो। मंग्राती यसअघि पाँचथर, सप्तरी, जाजरकोट हुँदै उनी ओखलढुङ्गाको सिडिओ बनेर गएका थिए। अहिले उनी उदयपुर पुगेका हुन्।
उदयपुरका सिडिओ धर्मराज जोशीको भने सुर्खेत सरुवा भएको छ। बाँकेबाट उदयपुर पुगेका सिडिओ जोशी सुर्खेत उक्लिएका हुन्। ६ महिना उदयपुर बसेर उनी सुर्खेत गएका हुन्। सुर्खेतका सिडिओ जगदीश्वर उपाध्यायको नवलपरासी पूर्व सरुवा भएको छ। सहसचिवमा बढुवा हुनेबित्तिकै सुर्खेतको सिडिओ भएर गएका उपाध्याय १४ महिना बसेर नवलपरासी झरेका हुन्।
सप्तरीका सिडिओ टुवराज पोखरेल भने ओखलढुङ्गा उक्लिएका छन्। धनकुटा, दोलखा जस्ता जिल्ला हाँकिसकेका पोखरेल सप्तरीबाट ओखलढुङ्गा पुगेका हुन्। ९ महिना सप्तरी बसेपछि पोखरेल गर्मी छल्न ओखलढुङ्गा उक्लिएका हुन्।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सिडिओ भविश्वर पाण्डेको पाल्पामा सरूवा भएको छ। २०८१ चैत्र १० गते सिडिओको कमाण्ड सम्हालेका पाण्डे १४ महिनापछि पाल्ला पुगेका हुन्। पाल्पाका सिडिओ विनु बज्राचार्य कुँवर रामेछाप सरूवा भएकी छिन्। उनी ९ महिला पाल्पा बसेपछि रामेछाप सरुवा भएकी हुन्।
रामेछापका सिडिओ श्यामकृष्ण थापा सप्तरी सरुवा भएका छन्। तनहुँबाट रामेछाप पुगेका थापा १३ महिना बसेपछि सप्तरी झरेका हुन्।
निजामती किताबखानाको उपमहानिर्देशकबाट गृह भित्रिएकी लक्ष्मी पाण्डे गौतम धादिङको सिडिओमा पठाइएकी छिन्। धादिङका सिडिओ विजयराज सुवेदी भने सर्लाही सरुवा भएका छन्। २०८२ भाद्र ५ गते ओखलढुङ्गाबाट धादिङ पुगेका सुवेदी ९ महिनापछि सर्लाही पुगेका हुन्। उनी सहसचिव बढुवा हुनेबित्तिकै ओखलढुङ्गाको सिडिओ भएर गएका थिए। त्यसपछि धादिङ हुँदै सर्लाही पुगेका हुन्।
सर्लाहीका सिडिओ रामुराज कडरिया गृह मन्त्रालय तानिएका छन्। गत कार्तिकमा सर्लाही पठाइएका कडरिया एक हप्तापछि अवकाशमा जाने भएपछि गृह मन्त्रालय तानिएको हो। कडरिया धनुषा, गोरखा हुँदै सर्लाहीको सिडिओ बनेर गएका थिए। अब उनी घर जाने तयारीमा छन्।
जेनजी आन्दोलनपछि राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालय भित्रिएका निराजन घिमिरे स्याङ्जाको प्रमुख जिल्ला अधिकारी बनेका छन्। निराजनले गृह मन्त्रालय छिरेर चुनावको बेला सिडिओ हुने तालिम लिएका थिए। तालिम लिएर गृहको गौडा ढुकेर बसेका निराजन स्याङजाको सिडिओ बनेका हुन्।
स्याङ्जाका सिडिओ इश्वरीप्रसाद अर्यालको संखुवासभामा सरूवा भएको छ। २०८१ चैत २७ गते स्याङ्जाको सिडिओ भएका अर्याल १४ महिना स्याङ्जा बसेर संखुवासभा जाने भएका हुन्।
सिर्जना थपलिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय सरूवा भएकी छिन्। २०८२ भाद्र ९ गते संखुवासभा सिडिओमा हाजिर भएकी थपलिया ९ महिना पूरा गरेर संघीय राजधानी फर्किने भएकी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख नरहरि घिमिरे ललितपुरको सिडिओ भएर गएपछि उक्त ठाउँ खाली थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा थपलिया ल्याइएको हो। सहसचिव हुनेबित्तिकै थपलिया संखुवासभाको सिडिओ भएर गएकी थिइन्।
कम्पनी रजिष्ट्रारको कार्यालयबाट गृह मन्त्रालय भित्रिएका बलराम निरौला गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखमा खटाइएका छन्।
गृह मन्त्रालयले यसपटक गरेको सिडिओ सरुवा धेरै सन्तुलित देखिन्छ। जिल्ला मिलाएर सरूवा गरिएको पाइन्छ। गृह छिरेका विवादित सहसचिव पुष्पराज शाहीले भने कुनै जिम्मेवारी पाएका छैनन्।
क्याटेगोरी : समाचारट्याग : #ईश्वरीप्रसाद अर्याल, #कुमानसिंह गुरूङ, #जगदिश्वर उपाध्याय, #टुवराज पोखरेल, #धर्मराज जोशी, #निराजन घिमिरे, #बलराम निरौला, #बिनु बज्राचार्य कुँवर, #भविश्वर पाण्डे, #मेखबहादुर मंग्राती, #रामुराज कडरिया, #रुद्रादेवी शर्मा, #लक्ष्मी पाण्डे गौतम, #विजयराज सुवेदी, #श्यामकृष्ण थापा, #सिर्जना थपलिया


तपाईको प्रतिक्रिया दिनुहोस