स्वास्थ्य सचिवदेखि राजस्व सचिवसम्म परे सरूवामा


काठमाडौं। सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रशासन हेर्ने सचिवदेखि अर्थ मन्त्रालयको राजस्व सचिवसम्मको सरूवा गरेको छ। स्वास्थ्य मन्त्रालयको प्रशासन हेर्ने सचिव डिल्लीराम शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरिएको हो। अब स्वास्थ्यमा डा. विकास देवकोटा एकल सचिव रहनेछन्।

अर्थ मन्त्रालयको राजस्व सचिव भूपाल बरालको गण्डकी प्रदेशमा सरुवा भएको छ। अर्थमा घनश्याम उपाध्याय एकल सचिव रहनेछन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सामान्य प्रशासन हेर्ने सचिव चन्द्रकला पौडेलको उपराष्ट्रपति कार्यालय सरूवा गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मदन भुजेल एकल सचिव भएका छन्।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएका छन्। कृषिमा राजेन्द्रप्रसाद मिश्र एकल सचिव कायम भएका हुन्। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएका छन्। शिक्षाका चूडामणि पौडेल एकल सचिव कायम भएका हुन्।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय ऊर्जा हेर्ने सचिव चिरन्जीवी चटौत नेपाल ट्रष्टको कार्यालयमा सरुवा भएका छन्। ऊर्जामा सरिता दवाडी एकल सचिव भएर बस्न सफल भएकी छिन्। दुई सचिव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कृष्णबहादुर राउतले ‘सिंगल’ हाँकिरहेका छन्।

उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्ण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा भएका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव हरिप्रसाद मैनाली पनि प्रधानमन्त्री कार्यालय पुगेका छन्। भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेको दरबन्दी प्रधानमन्त्री कार्यालयको अतिरिक्तमा ल्याइएको छ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव सरजुकुमार वैद्य जल तथा ऊर्जा आयोगको सचिवालय पुगेका हुन्। जल तथा उर्जा आयोगका सचिव दिननाथ मिश्र राष्ट्रिय सतर्कता केन्द्र सरुवा भएका छन्।

नेपाल ट्रष्टको कार्यालयको सचिव प्रमिलादेवी बज्राचार्यको भने विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरुवा भएकी छिन्। दुई सचिव भएका अधिकांश मन्त्रालयमा एक सचिव राखिएको छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ