किताबखानाको ‘रेकर्ड’मा निष्क्रिय देखिएका अधिकांश स्वास्थ्यकर्मी फिल्डमा
काठमाडौं। राष्ट्रिय किताबखानाको ‘रेकर्ड’मा निष्क्रिय देखिएका अधिकांश स्वास्थ्यकर्मी फिल्डमा फेला पारेका छन्। किताबखानले स्वास्थ्य सेवाका २८७ कर्मचारी निष्क्रिय रहेको जनाएको छ। तर, स्वास्थ्य लाइभले गरेको एक अध्ययनले यिनीहरूमध्ये धेरैजसो फिल्ड (कार्यालय)मै कार्यरत रहेको पाइएको हो। असाधारण विदा, बेतलबी असाधारण विदा, बेतलबी अध्ययन विदा, तलबी अध्ययन विदा जस्ता विदा लिएर विदा अवधि समाप्त भएका ति कर्मचारीहरू काममा फर्किएको किताबखानाको ‘रेकर्ड’मा देखिँदैन। तर, उनीहरूमध्ये धेरैजसो काम र सरकारी जिम्मेवारीमै फर्किसकेको देखिन्छ।
उदाहरणका लागि राष्ट्रिय किताबखानाको ‘रेकर्ड’मा स्वास्थ्य सेवाका एघारौं तह (अधिकृत एघारौं)का डा. विकास नेपाल निष्क्रिय सूचीमा रहेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरका डा. नेपाल २०७९ असार १७ गतेदेखि २०८२ असार १७ गतेसम्म असाधारण विदामा रहेको देखिन्छ। भारतमा ३ वर्ष पढेर उनी राष्ट्रिय ट्रमा सेन्टरमा फर्किसकेका छन्। स्वास्थ्य लाइभसँगको कुराकानीमा डा. नेपाल आफू विदा सकिनेबित्तिकै जिम्मेवारीमा फर्किसकेको बताउँछन्। तर, विवरण ‘अपडेट’ नहुँदा उनी किताबखानाको ‘रेकर्ड’मा निष्क्रिय देखिन्छन्।
स्वास्थ्य सेवा कै अधिकृत दशौं पवनकुमार साह २०८० भदौ १५ गतेदेखि २०८२ असार ३१ गतेसम्म तलवि अध्ययन विदामा रहेको देखिन्छ। राष्ट्रिय किताबखानाको ‘रेकर्ड’मा उनी विदामै देखिन्छन्। तर, हाल साह स्वास्थ्य बीमा बोर्डमा कार्यरत छन्। दशौं तहका प्रशन्न नापित, अमृत पोख्रेललगायत पनि कुर्सीमै भेटिन्छन्।
डा. नेपाल, साह, नापित, पोख्रेल जस्ता थुप्रै स्वास्थ्यकर्मीको विवरणको अवस्था उस्तै छ। किताबखानामा फर्किएको अपडेट नगराएका अधिकांश स्वास्थ्यका कर्मचारी फिल्ड (कार्यालय)मा छन्। सरकारी रेकर्डमा भने ‘बेपत्ता’को अवस्था देखिएको छ। यसमा कार्यालय र कर्मचारी दुबैको उत्तिकै दोष छ। स्वास्थ्यका कर्मचारीको पिआइएस अपडेटमा गडबडी देखिएकोले मन्त्रालयले आवश्यक छानबिन गरेर अपडेट तथा कारबाही प्रक्रिया अघि बढाउनु पर्ने देखिन्छ।
राष्ट्रिय किताबखानाको ‘रेकर्ड’ अनुसार स्वास्थ्यका एघारौं तहका १ जना अधिकृत, दशौं तहका ५ जना अधिकृत, अधिकृत नवौं ३ जना अधिकृत, आठौं तहका ६९ जना, सातौं तहका १५ जना अधिकृत, छैटौं तहका ८४ जना अधिकृत, पाचौं तहका ७३, चौथो तहका ३२ जना, तेस्रो तह १, श्रेणीविहीन १ जना लगायत २८७ जना कर्मचारीको विदा कैफियत देखिएको छ। तर, स्वास्थ्य लाइभले अध्ययन गर्दा माथिल्लो तहका धेरैजसो स्वास्थ्यका अधिकारी विदा सकिएपछि काममा फर्किसकेको देखिएको हो। विदा समाप्त भएर काममा फर्किएका कर्मचारीलाई किताबखानामा पिआइएस ‘अपडेट’ गर्न लगाउनु पर्छ। अटेरी गर्ने कर्मचारीमाथि भने विभागीय कारबाही गर्न आवश्यक छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस