अध्ययन विदा सकाएर फर्किएपछि ‘सिस्टम’मा बेखबर रहेका सहसचिव


काठमाडौं। राष्ट्रिय किताबखाना (निजामती)ले निष्क्रिय रहेका कर्मचारीको अनुमान विस्तृत छानबिन गर्नका लागि सिफारिस गरेको छ। सम्बन्धित मन्त्रालयलाई विशेष छानबिनका लागि अनुरोध गर्दै किताबखानाले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विवरण पठाएको हो। ५२९ जना कर्मचारी निष्क्रिय अवस्थामा रहेको भन्दै विशेष छानबिन हुनुपर्ने किताबखानाको सिफारिस छ। उक्त विवरण सामन्य प्रशासन मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई पठाएर छानबिन गर्न निर्देशन दिइएको हो।

यसरी विशेष छानबिनमा बहालवाला दुई सहसचिव पनि परेको सिंहदरबारभित्र चर्चा छ। हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत सहसचिव कल्पना श्रेष्ठ र लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कार्यरत सचिव (सहसचिव) वीरेन्द्रबहादुर केसी रहेका छन्।

श्रेष्ठ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय (हाल महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय)मा हुँदा तलबी अध्ययन विदा लिएकी थिइन्। उक्त विदा समाप्त भएर उनी सेवामा फर्किसकेकी छिन्। हाल उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत रहेको पाइन्छ। तर, सरकारी प्रणालीमा भने उनी निष्क्रिय अवस्थामा रहेकी हुन्।

भन्सार विभागमा हुँदा वीरेन्द्रबहादुर केसी तलबी अध्ययन विदा लिएर हिँडेका थिए। विदा समाप्त भएर उनी नियमित काममा फर्किसकेका छन्। सहसचिव केशी हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानुन सचिवको रूपमा कार्यरत रहेको पाइन्छ। तर, उनी सरकारी ‘सिस्टम’मा निष्क्रिय कर्मचारी हुन्।

विदा समाप्त भएपछि उच्च पदस्थ कर्मचारीले व्यक्तिगत विवरण (पिआईएस) अद्यावधिक नगराउँदा ‘बेपत्ता’ सूचीमा परेका छन्। तिनीहरूमध्यमै सहसचिव श्रेष्ठ र केसी परेका हुन्। उच्च पदस्थ कर्मचारीहरूले ‘पिआइएस’ अपडेटमा कति लापरबाही गर्छन् भन्ने उदाहरण सहसचिव श्रेष्ठ र केसी हुन्। उनीहरूलाई सरकारले सचेत गराउनु पर्ने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #कल्पना श्रेष्ठ, #वीरेन्द्रकुमार केसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ