लागुऔषध नियन्त्रणका लागि बजेट छुट्याउन कीर्तिपुर नगरपालिकासँग युवाहरूको माग
काठमाडौं । कीर्तिपुर नगरपालिकाभित्र लागुऔषध दुर्व्यसन र कारोबारको समस्या बढ्दै गएको भन्दै विभिन्न युवा तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लागुऔषध नियन्त्रण, उपचार तथा पुनःस्थापना सेवाका लागि बजेट विनियोजन गर्न माग गरेका छन्।
नगर प्रमुख कृष्णमान डंगोललाई सम्बोधन गर्दै जारी गरिएको संयुक्त विज्ञप्तिमा समुदायमा लागुऔषध दुर्व्यसनको समस्या बढ्दै जाँदा विशेषगरी युवापुस्ता उच्च जोखिममा परेको उल्लेख गरिएको छ।
युवाहरूले स्थानीय ऐन २०७४ अनुसार नगरस्तरीय लागुऔषध दुर्व्यसन व्यवस्थापन समिति अविलम्ब गठन गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्।
नेपाल सरकार गृह मन्त्रालयको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको अध्ययनलाई उद्धृत गर्दै नेपालमा कडा किसिमका लागुऔषध प्रयोगकर्ताको अनुमानित संख्या १ लाख ३० हजार ४२३ रहेको उल्लेख गरिएको छ। तीमध्ये १ लाख २१ हजार ६९२ जना (९३.३ प्रतिशत) पुरुष र ८ हजार ७३२ जना (६.७ प्रतिशत) महिला रहेका छन्।
प्रतिवेदनअनुसार लागुऔषध प्रयोगकर्ता वार्षिक ५.०६ प्रतिशतका दरले बढिरहेका छन्। विशेषगरी १५ देखि ३० वर्ष उमेर समूहका युवायुवतीहरू लागुऔषधको उच्च जोखिममा रहेको विज्ञप्तिमा उल्लेख छ।
लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा हालका सरकारी संयन्त्रहरूले मात्र समस्या समाधान गर्न नसक्ने अवस्था देखिएको भन्दै विज्ञप्तिमा संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वित प्रयास आवश्यक रहेको औंल्याइएको छ। समस्या समाधानमा स्थानीय सरकारको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भएकाले कीर्तिपुर नगरपालिकाले विशेष प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्नुपर्ने माग छ।
नगरपालिकामा पछिल्ला वर्षहरूमा स्थानीय तथा बाहिरी क्षेत्रबाट आएका युवायुवतीबीच लागुऔषध दुर्व्यसन बढ्दै गएको र विभिन्न स्थानमा लागुऔषध कारोबारसमेत हुने गरेको छ। यसले सामाजिक तथा पारिवारिक समस्या सिर्जना गरिरहेको भन्दै विद्यालय, प्रहरी, युवा लक्षित संघसंस्था तथा उपचार केन्द्रहरूसँग सहकार्य गरेर निरन्तर अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

युवाहरूले नगरपालिकाको नीति तथा कार्यक्रममा लागुऔषधविरुद्ध सचेतना अभियान सञ्चालन, विभिन्न स्थानमा नगर प्रहरी तथा नेपाल प्रहरी परिचालन, विद्यालयस्तरमा शिक्षक तथा युवा संगठनका लागि तालिम, विपन्न समुदायलाई उपचार सेवामा पहुँच तथा पुनःस्थापनाका कार्यक्रम र सीप विकास तथा आयआर्जनमूलक कार्यक्रम सञ्चालनका लागि नियमित बजेट व्यवस्था गर्न माग गरेका छन्।
आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममाथि छलफल हुने नगर परिषद् बैठकअघि जारी गरिएको विज्ञप्तिमा आवश्यक कार्यक्रम समेटेर पर्याप्त बजेट विनियोजन गर्न नगरपालिकासँग अनुरोध गरिएको छ। विज्ञप्तिमा विभिन्न युवा तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस