डेढ वर्षदेखि फाजिलमा परेका परराष्ट्रका सहसचिवहरू बल्ल व्यवस्थापन


काठमाडौं। तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्रमा दरबन्दीको ‘बाढी’ ल्याएपछि ‘बाँध’ नै फुटेको थियो। आरजुले परराष्ट्रको दरबन्दीमा ‘बाढी’ मात्र होइन ३ वटा दरबन्दीमा सहसचिवको विज्ञापन गर्न लगाएकी थिइन्। परराष्ट्रमा नभएको पदमा विज्ञापन भएपछि नयाँ थपिएका सहसचिवहरू ईला मैनाली, रोजिना ताम्राकार र दिपक बिक फाजिलमा परेका थिए। फाजिलमा परेको डेढ वर्षपछि बल्ल तीनैजना सहसचिवको ‘अस्थायी’ व्यवस्थापन भएको छ।

ईला मैनालीलाई राष्ट्रपति कार्यालय खटाइएको छ। रोजिना ताम्राकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी पाएकी छिन्। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि परराष्ट्रको फाजिलमा रहेका दिपक विकलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो। विगतमा लामो अनुभव भएका सहसचिवहरूलाई राहदानी विभागको महानिर्देशक बनाउने प्रचलन थियो। शाखा अधिकृतबाट दलित कोटामा सीधै सहसचिव भएका अछामका दिपकले सहसचिव भएर हाजिर गर्दै घर जाँदै गरेको डेढ वर्ष हुन लागेपछि राहदानी विभागको कमाण्ड सम्हाल्ने मौका पाएका हुन्।

यता राजनीतिक नियुक्ति हुँदै आएको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा फाजिलमा रहेकी रोजिना ताम्राकारलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ। कामै नहुने राष्ट्रपति कार्यालयमा परराष्ट्रको सहसचिवको दरबन्दी सिर्जना गरेर ईलालाई खटाइएको हो।

परराष्ट्र मन्त्रालयमा दरबन्दीभन्दा बढी रहेका सहसचिव व्यवस्थापन गर्ने जुक्ति निकालिएको छ। तर, नियोग खारेज भएपछि सान फ्रान्सिस्कोका महावाणिज्यदूत लक्षमण खनाल र ब्राजिलका राजदूत निर्मलराज मन्त्रालयको जगेडामा फिर्ता हुनेछन्। काफ्ले त साउन ४ वर्षे कार्यकाल पूरा गरेर फर्किने तयारीमै थिए। ब्राजिलस्थित नियोग (राजदूतावास) नै खारेज भएपछि त्यसअगावै स्वदेश फर्किनु पर्ने भएको छ। ब्राजिलको राजदूतावास भाडाको घरमा रहेको, नजिकैको राजदूतावासमा कागजात बरबुझारथ गरेर स्वदेश फर्किन सहज हुने देखिन्छ।

आरजुका पालामा यसरी भयो परराष्ट्रमा बदमासी

परराष्ट्र मन्त्री आरजु राणा देउवाको जोडबलमा परराष्ट्रमा ११ जना सहसचिवको दरबन्दी रातारात थपियो। लोक सेवा आयोगमा विज्ञापन माग्दा ११ जना माग्नुपर्नेमा १४ जना सहसचिव मागियो। बेल्जियमको राजदूतबाट फर्किने सहसचिव गेहेन्द्र राजभण्डारी, पाकिस्तानको राजदूतबाट फर्किने सहसचिव तापस अधिकारी र जर्मनीको राजदूतबाट फर्किने सहसचिव रामकाजी खड्काको ठाउँ पनि खाली नराखी सहसचिवको विज्ञापन गरिएको हो। त्यसैले परराष्ट्र मन्त्रालयमा सहसचिवहरू डा. ईला मैनाली, रोजिना ताम्राकार र दिपक विक फाजिलमा परेका थिए। परराष्ट्र मन्त्रालयको बरण्डामा ‘घाम तापेर’ बस्ने र ‘हाजिर गर्ने र टाप ठोक्ने’ उनीहरूको दैनिकी बनेको थियो। फाजिलमा परेको डेढ वर्ष पुग्न लागेपछि भने फाजिलमा रहेका सहसचिवहरूले जिम्मेवारी पाएका छन्।

परराष्ट्र मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा रिक्त नभएका ३ सहसचिव पदमा विज्ञापन गरेर जगेडामा राखेको थियो। उक्त बदमासीमा संलग्न तत्कालीन परराष्ट्रमन्त्री आरजुसहितमाथि छानबिन तथा आवश्यक कारबाही गर्न जरूरी छ।

क्याटेगोरी : समाचार
ट्याग : #ईला मैनाली, #दिपक विक, #रोजिना ताम्राकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ