यी हुन् डिभि-पिआर लिएका सरकारका ४ अधिकृत, नापी अधिकृत मात्र ३ जना
काठमाडौं। नेपाल सरकारका ४ अधिकृत डिभि-पिआर लिएर विदेशमा बसिरहेको पाइएको छ। विदेशी मुलुकको आवासीय अनुमति लिएका ४ अधिकृत फेला परेका छन्। डिभि-पिआर लिनेमा ३ जना नापी अधिकृत र एकजना तथ्याङ्क अधिकृत रहेका छन्।
पढ्न भनेर विदेश गएका नापी अधिकृतहरू निमिषा वाग्ले, आभाष जोशी र रमेशकुमार पोखरेल उतैको आवासीय अनुमति लिएर बसेका छन्। वाग्लेसँग स्थायी आवासीय अनुमतिपत्र (पिआर) र जोशीसँग अष्ट्रेलियाको अस्थायी आवासीय अनुमतिपत्र (टिआर) रहेको खुल्न आएको हो। त्यस्तै नापी अधिकृत पोखरेलसँग अमेरिकाको डिभी परेर पलायन भएको पाइएको छ। उनी अमेरिका बसेर राज्यमाथि बेइमानी गरिरहेका हुन्।
त्यस्तै तथ्याङ्क अधिकृत सुरेन्द्रप्रसाद पाण्डेयले पनि अस्थायी आवासीय अनुमति लिएको फेला परेको छ। उनी सरकारसँग सम्पर्कविहीन अवस्थामा छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका यी ४ कर्मचारीसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ। बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको हो।
निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनि व्यवस्था छ। स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले उनीहरुलाई स्पष्टीकरणको सोध्न लागिएको हो।
मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ। गोरखापत्रमा सूचना निकालेर ४ जना अधिकृतमाथि एक्सन लिने तयारी थालिएको हो। नेपाल सरकारका पलायनवादी ४ अधिकृतलाई चर्को ‘फाइन’ गर्नुपर्ने देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #आभाष जोशी, #निमिषा वाग्ले, #रमेशकुमार पोखरेल, #सुरेन्द्रप्रसाद पाण्डेय


तपाईको प्रतिक्रिया दिनुहोस