अदालतको आदेशपछि नेपाल एयरलाइन्समा नयाँ नियुक्ति, भट्टराई र लामिछाने आउट, १ नम्बरका कार्की छिरे


काठमाडौं। सर्वोच्च अदालत आदेशपछि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालक सदस्य नियुक्तिको प्रक्रिया उल्टिएको छ। सर्वोच्च अदालतले बदर गरिदिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय योग्यताक्रममा आधारमा निगमको सञ्चालक समिति सदस्यको नियुक्ति गरेको हो।

सर्बोकृष्ट नम्बर ल्याएर १ नम्बरमा परेका उपेन्द्रबहादुर कार्कीलाई नियुक्ति नगरी पछाडि रहेकालाई ल्याएपछि उनले रिट हालेका थिए। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले पुरानो नियुक्ति बदर गरिदिएसँगै पर्यटनमन्त्री खडकराज पौडेलले ‘मेरिट’का आधारमा नयाँ नियुक्ति गरेका हुन्।

नेपाल एयरलाइन्सको सञ्चालक समिति सदस्यमा उपेन्द्रबहादुरसहित मेरिटका आधारमा लिलाराज ढकाल, महेश्वर भक्त श्रेष्ठ, डा. दिपक बाँस्तोला र डा. भिम चन्द नियुक्ति पाएको स्रोतले बतायो। कतिपयले मंगलबार नै पत्र बुझेका छन् ।

यसअघि नियुक्ति खाएका प्रविण भट्टराई र रूपा लामिछाने भने आउट भएका छन्। भट्टराई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अग्नी नियन्त्रक कार्यालयमा चौथो तह (खरिदारसरह)को पदमा करारमा जागिर खाएका व्यक्ति हुन्। जागिर छाडेर उनी ड्रोनको व्यापार गर्दै आएका थिए। मेरिटमा पछाडि परेपनि मन्त्रीका पिएको साथी भएकै कारण भट्टराईलाई निगमको सञ्चालक समिति सदस्य बनाइएको चर्चा छ। भट्टराईलाई अध्यक्ष बनाउने तयारी भइरहेको बेलामा अदालतले झड्का दिएपछि उनी सदस्यबाटै बाहिरिएका छन्। मेरिटको पुच्छरतिर रहेर सदस्यमा नियुक्ति खाएकी लामिछाने पनि अदालतको आदेशले बाहिरिएकी हुन्।

पर्यटनमन्त्री पौडेलले मेरिटका आधारमा सदस्य बनेकालाई कार्यकारी अध्यक्ष बनाउने भनेर सार्वजनिक रुपमै घोषणा गरेका छन्। त्यसैले उनलाई अध्यक्ष नियुक्तिमा मेरिट मिच्न नैतिक संकट परेको छ। खुला प्रतिस्पर्धाबाट आएका सदस्यलाई नै अध्यक्ष बनाउनु पर्ने नैतिक बाध्यता मन्त्रीमा देखिन्छ।

निगमको सदस्य बनेका चन्द पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी एयरलाइन्ससँग अनुभवी नभए पनि मेरिटका आधारमा निगमको सञ्चालक समितिको सदस्यमा नियुक्त भएको स्रोतले बतायो।

त्यस्तै लिलाराज ढकाल चार्टर्ड एकाउन्टेन्ट, श्रेष्ठ नेपाल एयरलाइन्स कै पूर्व कर्मचारी र बाँस्तोला अवकाश प्राप्त नेपाली सेनाका कर्णेल हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ