‘डब्बल कोटा’ प्रयोग गर्ने सचिव बज्राचार्य अवकाशमा, कर्णको दिनगन्ती
काठमाडौं। उपसचिव र सहसचिवमै आरक्षण (कोटा) प्रयोग गर्ने सचिव प्रमिलादेवी शाक्य बज्राचार्य अनिवार्य अवकाशमा गएकी छिन्। ५ वर्ष सचिव चलाएर विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिला मंगलबार रातीबाट अनिवार्य अवकाशमा गएकी हुन्। अवकाश प्राप्त सचिव बज्राचार्य निजामती प्रशासनको उपल्लो तहमा ‘डब्बल-कोटा’ प्रयोग गर्नेमा पर्छिन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयबाट अवकाश प्राप्त सचिव बज्राचार्य कोटा प्रयोग गरेर दुई वर्ष नपुग्दै उपसचिवबाट सहसचिव भएकी थिइन्। २०६६ वैशाखमा महिला कोटाबाट प्राविधिक तर्फको उपसचिवमा नाम निकालेकी प्रमिलाले २०६७ फागुनमै महिला कोटाबाट इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहको सहसचिवमा नाम निकालिन्। उनले पनि आरक्षण प्रणालीलाई मज्जैले उपयोग गरेको देखिन्छ। २०७८ असार १७ गते सचिवमा बढुवा भएकी बज्राचार्य असार १६ गतेबाट अनिवार्य अवकाशमा गएकी हुन्।
मधेशी कोटाबाट उपसचिव र सहसचिव बनेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे जगेडामा रहेका सचिव कृष्णहरि पुष्कर कर्ण अवकाशको मुखमा रहेका छन्। उनको अवकाशको दिनगन्ती सुरू भइसकेको छ। हप्ता दिनभित्रै जगेडाका सचिव अवकाशमा जाँदैछन्।
२०६६ कार्तिकमा मधेशी कोटाबाट प्रशासन सेवा, सामान्य प्रशासन तर्फको उपसचिव बनेका कर्ण त्यसको साढे दुई वर्षपछि फेरि २०६८ फागुनमा मधेशी कोटाबाटै सहसचिव बनेको पाइन्छ। २०७८ असार २४ गते सचिवमा बढुवा भएका कर्ण ५ वर्ष पूरा भएर असार २३ गते अनिवार्य अवकाशमा जाँदैछन्। प्रमिलापछि उनी अवकाशमा जाने तरखरमा रहेका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस