तीनदिन राहदानी सेवा बन्द हुने
काठमाडौं। राहदानी सेवा नयाँ प्रणालीमार्फत सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै राहदानी विभागले नयाँ प्रणालीमा रूपान्तरणका क्रममा केही दिन राहदानी सेवा प्रभावित हुने भएकाले सेवाग्राहीलाई आवश्यक तयारी गर्न विभागले आग्रह गरेको छ। ई–पासपोर्टमा जाने तयारीका क्रममा नयाँ प्रणालीमा जाने क्रममा आवस्यक पर्ने प्राविधिक प्रबन्धका लागि विभागले यस्तो आग्रह गरेको हो।
विभागले एक विज्ञप्ती जारी गर्दै हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा स्थानान्तरण (माइग्रेसन) गर्ने प्रक्रियाका कारण जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राुहदानी सेवा अस्थायी रूपमा बन्द रहने उल्लेख छ।
विज्ञप्तीका अनुसार २०८३ असार २४ देखि २६ गतेसम्म (तदनुसार ८ देखि १० जुलाई २०२६) जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा तीन दिनका लागि बन्द हुनेछ।

यसैगरी राहदानी विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने सेवा २०८३ असार २५ र २६ गते (तदनुसार ९ र १० जुलाई २०२६) दुई दिनका लागि बन्द रहने पनि विज्ञप्तीमा उल्लेख छ। २०८३ असार २७ गते (तदनुसार ११ जुलाई २०२६) देखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालनमा आउने विभागले उल्लेख गरेको छ।
नयाँ प्रणालीमा जाने क्रममा सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति विभागले क्षमायाचना गरेको छ। नयाँ प्रणालीमार्फत् सेवा अझ प्रभावकारी, छिटो र व्यवस्थित हुने विश्वास व्यक्त गर्दै विभागले सेवाग्राहीलाई आवश्यक सहकार्य र समझदारीका लागि धन्यवाद पनि ज्ञापन गरेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस