कमल भट्टराईको कायममुकायम अवधि समाप्त, सरकारले कसलाई पठाउला मधेशको प्रमुख सचिव? 


काठमाडौं। सरकारले कमलप्रसाद भट्टराईलाई मधेश प्रदेशको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिएको ६ महिना अवधि पूरा भइसकेको छ। प्रचलित कानुन अनुसार भट्टराई दिएको कायममुकायम प्रमुख सचिवको अवधि समाप्त भएको हो। पुसको दोस्रो साता मधेश प्रदेशको कायममुकायम प्रमुख सचिव भएर जाडो छल्न मधेश झरेका भट्टराई गर्मी बढेसँगै पदीय जिम्मेवारी खोसिने अवस्थामा पुगेका छन्। कानुन बमोजिम उनी कायममुकायमको जिम्मेवारीबाट पनि झरेका हुन्।

६ महिनाभन्दा बढी कायममुकायमको जिम्मेवारी दिन नमिल्ने प्रावधानका कारण मधेश प्रदेशको प्रमुख सचिवमा संघबाट नयाँ पठाउनु पर्ने भएको छ। सरकारले कम अवधि बसेको र कनिष्ठ (जुनियर) सचिवलाई प्रदेश पठाउन थालेको छ। गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेलाई भ्रष्टाचार मुद्दा लागेपछि अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई उक्त ठाउँमा पठाइएको छ। उनी गण्डकी प्रदेशमा गएर हाजिर गरिसकेका छन्। सचिव बराल साढे ५ महिना बागमती प्रदेश बसेर संघमा फर्किएको केही महिनामै गण्डकी प्रदेश पुगेका हुन्।

साढे पाँच महिना प्रदेश बसेका कनिष्ठ सचिव बराललाई गण्डकी पठाएपछि उक्त मापदण्डमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल परेका छन्। अहिले संघमा रहेका प्रशासन सेवाका सबैभन्दा कनिष्ठ सचिव शोभाकान्त हुन्। उनी एक महिना पनि गण्डकी प्रदेशमा बसेनन्। कम समय प्रदेश बसेका र संघमा भएका कनिष्ठ सचिव भएकाले प्रदेश फर्काउने मापदण्डमा शोभाकान्त पर्ने देखिन्छ। भूपालका लागि फरक र शोभाकान्तका लागि फरक मापदण्ड र व्यवहार न्यायोचित पनि हुँदैन। त्यसैले सरकारका लागि शोभाकान्त नै प्रदेश पठाउन उपयुक्त सचिव हुन्।

सरकारले झन्डै १ दर्जन सचिवको दरबन्दी कटौती गर्ने प्रक्रिया अघि बढाएको छ। एक मन्त्रालय एक सचिवको नीतिमा बालेन सरकार दृढ देखिन्छ। अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा आधा दर्जन बढी सचिव रहेका छन्। दरबन्दी मिलान गर्न ति सचिवहरूलाई प्रधानमन्त्री कार्यालयको ‘कान्जी-हाउस’मा राखिएको हो। उनीहरूलाई प्रदेश पठाउन पनि अवकाशको उमेर र प्रदेश बसेको अवधिले कठिनाइ हुने देखिन्छ। प्रदेश नै नगएका सचिव कृष्णहरि पुष्कर कर्ण एक दुई दिनभित्रै अवकाशमा जाने भएकाले उनलाई प्रदेश पठाउन सक्ने अवस्था देखिँदैन। अन्य सचिव पनि घर जाने सूचीमा छन्। अझै २/३ महिना सचिव बढुवा नहुने अवस्था रहेकाले कम अवधि प्रदेश बसेका र कनिष्ठ सचिव छान्दा शोभाकान्त मधेश झर्ने सम्भावना उच्च रहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ