मधेश प्रदेशको प्रमुख सचिवमा शोभाकान्त पौडेल


काठमाडौं। सरकारले मधेश प्रदेशको प्रमुख सचिवमा शोभाकान्त पौडेल सरूवा गरेर पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार पौडेललाई मधेश प्रदेशको प्रमुख सचिवमा पठाउने निर्णय भइसकेको छ। निर्णय भने सार्वजनिक गरिएको छैन।

मधेश प्रदेशको कायममुकायम प्रमुख सचिवको कमलप्रसाद भट्टराईको ६ महिना अवधि पूरा भइसकेको पौडेललाई प्रमुख सचिवमा सरूवा गरिएको स्रोतको दाबी छ। पौडेल हाल महालेखा नियन्त्रकको भूमिकामा कार्यरत छन्।

६ महिनाभन्दा बढी कायममुकायमको जिम्मेवारी दिन नमिल्ने प्रावधानका कारण भट्टराई को जिम्मेवारी कानुनी रुपमा खोसिएपछि मधेश प्रदेशको प्रमुख सचिवमा संघबाट पौडेललाई पठाउने निर्णय भएको स्रोतको भनाइ छ। सरकारले कम अवधि बसेको र कनिष्ठ (जुनियर) सचिवलाई प्रदेश पठाउन थालेको छ। गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेलाई भ्रष्टाचार मुद्दा लागेपछि अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई उक्त ठाउँमा पठाइएको छ। उनी गण्डकी प्रदेशमा गएर हाजिर गरिसकेका छन्। सचिव बराल साढे ५ महिना बागमती प्रदेश बसेर संघमा फर्किएको केही महिनामै गण्डकी प्रदेश पुगेका हुन्।

साढे पाँच महिना प्रदेश बसेका कनिष्ठ सचिव बराललाई गण्डकी पठाएपछि उक्त मापदण्डमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल परेका छन्। अहिले संघमा रहेका प्रशासन सेवाका सबैभन्दा कनिष्ठ सचिव शोभाकान्त हुन्। सचिवमा बढुवा भएपछि उनी एक महिना पनि गण्डकी प्रदेशमा बसेनन्। शक्तिको आडमा कम समय प्रदेश बसेका र संघमा भएका कनिष्ठ सचिव भएकाले प्रदेश फर्काउने मापदण्डमा शोभाकान्त मधेश झर्नेमा परेका हुन्। भूपाललाई जस्तै मापदण्ड लगाएर शोभाकान्तलाई प्रदेश पठाइएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरू बताउँछन्।

सरकारले झन्डै १ दर्जन सचिवको दरबन्दी कटौती गर्ने प्रक्रिया अघि बढाएको छ। एक मन्त्रालय एक सचिवको नीतिमा बालेन सरकार दृढ देखिन्छ। अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा आधा दर्जन बढी सचिव रहेका छन्। दरबन्दी मिलान गर्न ति सचिवहरूलाई प्रधानमन्त्री कार्यालयको ‘कान्जी-हाउस’मा राखिएको हो। उनीहरूलाई प्रदेश पठाउन पनि अवकाशको उमेर र प्रदेश बसेको अवधिले कठिनाइ हुने देखिएकाले शोभाकान्तलाई प्रदेश पठाएको पाइन्छ।

प्रदेश नै नगएका सचिव कृष्णहरि पुष्कर कर्ण एक/दुई दिनभित्रै अवकाशमा जाने भएकाले उनलाई प्रदेश पठाउन सक्ने अवस्था नरहेको र जगेडामा रहेका अन्य सचिव पनि घर जाने सूचीमा रहेकाले सोभाकान्तलाई प्रदेश पठाएको चर्चा चल्न थालेको छ। अझै २/३ महिना सचिव बढुवा नहुने अवस्था रहेकाले कम अवधि प्रदेश बसेका र कनिष्ठ सचिव छान्दा शोभाकान्त मधेश पठाइएको स्रोतले बतायो। प्रदेशमा प्रशासनिक नेतृत्व रिक्त हुनसाथ संघले पठाउन थालेको छ। भूपालपछि शोभाकान्तको प्रदेश फर्किने पालो आएको हो। सरकारको उक्त निर्णय न्यायोचित देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ