बिदाको दिन समेत ई-पेन्सन सेवा दिन किताबखाना सक्रिय


काठमाडौं। बिदाको दिन समेत सेवा दिन राष्ट्रिय किताबखाना सक्रिय भएर लागेको छ। श्रवणकुमार पोखरेल नेतृत्वको राष्ट्रिय किताबखाना (निजामती)ले सेवा प्रवाहमा पड्को मारेको हो।

ई-पेन्सन सेवाको फर्छौट हुन वाँकी आवेदन शून्यमा झार्ने विशेष अभियान किताबखानाले सञ्चालन गरेको छ। विद्युतीय आवेदनहरूको बाँकी काम शून्यमा झार्ने कामलाई किताबखानाले तीव्रता दिएको हो।

पछिल्लो समयमा राजिनामा दिनेको लहर बढेसँगै ई-पेन्सन आवेदन गर्नेहरुको संख्या पनि ह्वात्तै बढेको किताबखानाका महानिर्देशक पोखरेलले बताए। २०८२ फागुन ८ गतेबाट सुरू भएको ई-पेन्सन सेवाका लागि हालसम्म कुल ५१७ जनाले आवेदन दिएकोमा ४३३ जनाले सेवा प्राप्त गरिसकेको किताबखानाले जनाएको छ। अत्यधिक कार्यवोझका कारण ८४ जना अझै सेवा पर्खाइमा रहेकाे किताबखानाको जानकारी दिएको छ। प्रत्येक दिन नयाँ अनलाइन आवेदन थपिने क्रम पनि तीव्र रहेको महानिर्देशक पोखरेलले बताए।

आर्थिक वर्षको समाप्तिलाई मध्यनजर राख्दै हालसम्म ई-पेन्सन सेवा पर्खाइमा रहेका सवै ८४ वटै आवेदनलाई शून्यमा पुऱ्याउन राष्ट्रिय किताबखानाले आईतबार एक दिवसीय विशेष अभियान

 “शून्य वाँकी ई-पेन्सन आवेदन” सञ्चालन गरेको हो। आज २०८३ असार २१ गते आइतबार विदाका दिनमा समेत यस अभियानमा ७ जना कर्मचारीको विशेष टोली खटाइएको महानिर्देशक पोखरेलले जानकारी दिए। असार २५ गतेपछि कोलेनिकाहरूबाट अवकाश पछिका सुविधाहरू भुक्तानीमा समस्या हुने भएकोले विभिन्न जिल्लावाट अनलाइन इ-पेन्सन आवेदन गरि सेवाको पर्खाइमा रहेका निवृत्त कर्मचारीहरुको विशेष अनुरोध समेत प्राप्त भएकोले एक दिवसीय विशेष सेवा अभियान सञ्चालन गरिएको विभागले जनाएको छ। हाल कुल निवृत्त कर्मचारीमध्ये ५०% बढीले ई -पेन्सन सेवा लिने गरेका छन् । लोकप्रीय हुँदै गइरहेको ई-पेन्सन सेवावाट श्रेणीविहीनदेखि विशिष्ट श्रेणीसम्मका निवृत्त कर्मचारी लाभान्वित भएका छन्।

विभिन्न कारणले राजिनामा दिनेको संख्या वढ्दै गरएकाले स्वभाविक रुपमा ई-पेन्सन सेवाका लागि आवेदन दिनेको चाँप पनि बढेको महानिर्देशक पोखरेलले बताए। पोखरेलका अनुसार चालु असार महिनाको १ गतेदेखि १९ गतेसम्म १५ कार्यदिनको तथ्यांक केलाउँदा १४२ जना अनिवार्य अवकाशमा गएका छन्। त्यस्तै १४६ जना कर्मचारीले राजीनामा दिएको किताबखाना को विवरणले देखाउँछ।

किताबखानाका अनुसार पछिल्लो प्रवृत्ति (ट्रेन्ड) विश्लेषण गर्दा अनिवार्य अवकाशभन्दा राजीनामा दिनेको संख्या तुलनात्मक रुपले बढेको छ। पछिल्लो १५ कार्यदिनको अवधिमा सहायक स्तरका ७९ , शाखा अधिकृत स्तरका २९ जना, उपसचिवस्तरका ३३ जना तथा सहसचिवस्तरका ५ जनाले राजीनामा पत्रसहित पेन्सनका लागि आवेदन दिएकाे राष्ट्रिय किताबखानाले जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ