गृह मन्त्रालयको जगेडामा विवादित दुई सहसचिव


काठमाडौं। गृह मन्त्रालयको जगेडामा दुई सहसचिव रहेका छन्। पुष्पराज शाही र भूपेन्द्र थापा गृह मन्त्रालयको जगेडामा थन्क्याइएका सहसचिव हुन्। यिनीहरूमध्ये सहसचिव शाही निकै विवादित मानिन्छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख हुँदा ‘लाइन चलाए’को आरोपमा मुछिएका थिए। उनी त्यहाँबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सरुवा भएपनि निकै ढिलो हाजिर भएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक भएपछि अध्यागमनमा सँगै काम गरेका कर्मचरीलाई क्षेत्राधिकार मिचेर सम्पत्ति विवरण भर्न लगाएका थिए। श्रेष्ठ थरका एक व्यवसायीलाई आर्थिक बागेर्निङ गरेको डिजिटल विवरण प्रधानमन्त्री कार्यालयमा पुगेपछि उनी त्यहाँबाट सरूवा भएका थिए।

त्यति मात्र होइन सम्पूर्ण शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक हुँदा आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण बुझाएका थिएनन्। राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुझाएको विवरणमा शाही पनि सम्पत्ति विवरण नबुझाउने सूचीमा छन्।

नायब सुब्बा, शाखा अधिकृत र उपसचिवमा पिछडिएको क्षेत्रबाट लाभ लिएका शाही उक्त क्षेत्रमा गएर सेवा भने गरेका छैनन्। शाही जस्ता विवादित सहसचिव सिडिओ खान गृह मन्त्रालय भित्रिएका हुन्। तर, गृह मन्त्रालयले उनलाई ‘कान्जी-हाउस’मा राखिदिएको छ। उनी जस्ता सहसचिव गृह मन्त्रालय पुग्नु नै शासन सत्तामा बेथिति रहेको प्रस्ट हुन्छ।

त्यस्तै वन मन्त्रालयबाट गृहको जगेडामा पुगेका सहसचिव भुपेन्द्र थापा हुन्। थापा उद्योगबाट बन पुगेको छोटो समयमै गृह आएका हुन्। सरकारले विदेशमा पलायन हुने कर्मचारीमाथि एक्सन लिन सुरू गरेको छ। तर, थापा बनको कर्मचारी प्रशासन महाशाखा प्रमुख हुँदा सेवाबाट हटाउनु पर्ने कर्मचारीलाई जोगाएको आरोप लाग्न थालेको छ। उनले लोक सेवा आयोगमा परामर्शका लागि पठाइएको ‘फाइल’ समेत ‘होल्ड’ गरेको बताइन्छ। उक्त विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिन गर्न जरूरी छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ