अर्थबाट दुई महिनामै ९ सहसचिव भए आउट


काठमाडौं। अर्थ मन्त्रालयबाट दुई महिनाको अवधिमै ९ सहसचिव बाहिरिएका छन्। चर्चित बिचौलिया दिपक भट्ट सम्पत्ति शुद्धीकरण अनुसन्धान तानिएपछि अर्थबाट झन्डै आधा दर्जन सहसचिव ‘आउट’ भएका थिए। अहिले पनि अर्थबाटै बढी सहसचिव बाहिरिएका छन्।

बिचौलिया भट्टसँग कनेक्सन देखिएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक रहेका मदन दाहाललाई सुदूरपश्चिम प्रदेश पठाइएको थियो। सुदूरपश्चिममा प्रदेशको आन्तरिक मामिला तथा कानुन सचिवको भूमिकामा रहेका दाहाललाई बीमा सम्बन्धी कसुरमा मुद्दा समेत लागेको छ। उनी फरार अभियुक्त हुन्।

दाहालसँगै अर्थबाट सहसचिवहरू सेवन्तक पोखरेल, महेश बराल, महेश भट्टराई र सुशीला अर्याललाई प्रदेश पठाइएको थियो। सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख महेश बराल मधेश प्रदेश, अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रहेका महेश भट्टराईलाई बागमती प्रदेश, वित्तीय संघियता समन्वय महाशाखा प्रमुख रहेका सेवन्तक पोखरेललाई मधेश प्रदेश र सहमहालेखा नियन्त्रक सुशीला अर्याल लुम्बिनी प्रदेशमा पठाइएको थियो। त्यसको दुई महिनापछि अर्थबाट थप ४ सहसचिव आउट भएका छन्।

भट्टसँगको कनेक्सनका कारण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट मन्त्रालय तानिएर सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख बनेका गजेन्द्रकुमार ठाकुरको उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। भन्सार विभागको महानिर्देशक हुँदा गडबडी गरेपछि मन्त्रालय तानिएका श्यामप्रसाद भण्डारी उपराष्ट्रपति कार्यालय पुगेका छन्। मदन दाहालको सरूवा भएपछि आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी पाएका रमेश अर्याल गण्डकी प्रदेश र भन्सार विभागको निमित्त महानिर्देशक भरतमणि पाण्डे लुम्बिनी प्रदेश सरूवा भएका हुन्।

स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि अर्थबाट ९ सहसचिव आउट भएका छन्। अर्थबाट आउट हुने सहसचिवहरूमध्ये अधिकांश कुनै न कुनै विवादमा परेको पाइन्छ।

अर्थ मन्त्रालयका दुई शक्तिशाली आन्तरिक राजस्व र भन्सार विभागमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयात गरेर महानिर्देशक बनाइएको छ। आन्तरिक राजस्व विभागको महानिर्देशक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरूवा भएर आएका सहसचिव डा. भीष्मकुमार भुसाल बनेका छन्। भन्सार विभागको महानिर्देशकको जिम्मेवारी पनि प्रधानमन्त्री कार्यालयबाटै सरूवा भएका यमलाल भुसालले पाएका हुन्। आन्तरिक राजस्व विभागको उपमहानिर्देशक भने युवा, श्रम तथा रोजगार मन्त्रालयबाट सरूवा भएर आएका सहसचिव प्रेमप्रसाद आचार्यले पाएका छन्।

अर्थ मन्त्रालयबाट ठूलो संख्यामा लामो समयदेखि रजगज गर्ने सहसचिवहरू बाहिरिएको देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ