भदौभित्रै घर जाने सूचीमा रहेका सहसचिव: एडिबीका नेपालदेखि परराष्ट्रका ढुंगानासम्म


काठमाडौं। भदौ महिनाभित्रै आधा दर्जन नेपाल सरकारका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)हरू अवकाशमा जाँदैछन्। एसियाली विकास बैंकका वैकल्पिक कार्यकारी निर्देशक श्रीकृष्ण नेपालदेखि परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानासम्म भदौ महिनाभित्रै अवकाशमा जाने सूचीमा छन्। ५८ वर्षे उमेर हदका कारण विभिन्न सेवाका आधा दर्जन सहसचिवहरू घर जान लागेका हुन्।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२’ कार्यान्वयनका लागि सहजीकरण गर्न गठन गरेको समिति संयोजक कृष्णप्रसाद सापकोटा भदौ २ गते (भोलि) हाजिर भएर अनिवार्य अवकाशमा जाँदैछन्। नापी विभागका उपमहानिर्देशक समेत रहेका सापकोटा ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्।

रक्षा मन्त्रालयका सहसचिव मनोजकुमार आचार्य भदौ ६ गतेबाट अनिवार्य अवकाशमा जाने सूचीमा छन्। आचार्य अवकाशमा जानुभन्दा अगाडि नै बिदामा बसेका हुन्। ५८ वर्ष पूरा भएर घर जान लागेका आचार्य लामो समयदेखि रक्षामा कार्यरत छन्।

अर्थ मन्त्रालयका रजगज गरेर एसियाली विकास बैंक (एडिबी)को वैकल्पिक कार्यकारी निर्देशक बन्न पुगेका सहसचिव श्रीकृष्ण नेपाल भदौ १५ गते अनिवार्य अवकाशमा जाँदैछन्। एडिबीको मुख्यालय फिलिपिन्सको मनिलामा बसेर मासिक ३० लाख रुपैयाँ खाइरहेका सहसचिव नेपाल अवकाशमा जाने भएपछि उक्त पदमा सरकारले अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मालाई पठाउने निर्णय गरेको छ। नेपाल १५ दिनभित्रमा ५८ वर्ष पूरा भएर अवकाशमा जाने भएपछि स्वदेश फर्किंदैछन्।

भाषा आयोगका सचिव (सहसचिव) रमेशप्रसाद मैनाली भदौ २१ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। शिक्षा प्रशासनतिरका सहसचिव मैनाली ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्।

महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता गोपाल लामिछाने भदौ २४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। सरकारी वकिल समूहका सहसचिव लामिछाने ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्।

परराष्ट्र मन्त्रालय सहसचिव भृगु ढुंगाना पनि भदौ महिनाभित्रै अवकाशमा जाने सूचीमा रहेका छन्। सहसचिव ढुंगाना ५८ वर्ष पूरा भएर भदौ २७ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। परराष्ट्रका सहसचिव ढुंगानाको घर जाने दिनगन्ती सुरू भइसकेको हो। अब उनको जागिर एक महिना पनि बाँकी छैन।

क्याटेगोरी : समाचार
ट्याग : #कृष्ण प्रसाद सापकोटा, #गोपाल लामिछाने, #भृगु ढुंगाना, #मनोज कुमार आचार्य, #रमेश प्रसाद मैनाली, #श्रीकृष्ण नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ