श्रम मन्त्रालयमा ३ महाशाखा कायम भएसँगै सहसचिव मनितालाई पठाइयो युवा परिषद् 


काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयले नयाँ संगठन संरचना अनुसार कर्मचारी व्यवस्थापन गरेको छ। श्रम मन्त्रालयको ४ महाशाखा ३ वटामा झरेपछि सहसचिव मनिता श्रेष्ठलाई राष्ट्रिय युवा परिषद्मा खटाइएको हो।

श्रम मन्त्रालयमा सहसचिवहरू बाबुराम भण्डारी, पिताम्बर , हेमराज तामाङ र मनिता श्रेष्ठ रहेका थिए। भण्डारी प्रशासन तथा योजना महाशाखा प्रमुख, घिमिरे वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख, तामाङ आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख र श्रेष्ठ श्रम सम्बन्ध तथा सामाजिक संरक्षण महाशाखा प्रमुख थिए। नयाँ संगठन संरचना अनुसार ४ वटा महाशाखा मर्ज भएर प्रशासन तथा योजना महाशाखा, श्रम सम्बन्ध तथा आप्रवासन महाशाखा र युवा महाशाखा बनाइएको हो।

साबिकको प्रशासन तथा योजना महाशाखा कायम राख्दै वैदेशिक रोजगार व्यवस्थापन महाशाखा र श्रम सम्बन्ध तथा सामाजिक संरक्षण महाशाखा गाभेर श्रम सम्बन्ध तथा आप्रवासन महाशाखा बनाइएको छ। साबिकको युवा तथा खेलकुद मन्त्रालयमा रहेको युवा महाशाखा र श्रममा रहेको आन्तरिक रोजगार व्यवस्थापन महाशाखा गाभेर युवा महाशाखा बनाइएको हो।

प्रशासन तथा योजना महाशाखा प्रमुखमा सहसचिव बाबुराम भण्डारी नै रहेका छन्। वैदेशिक रोजगार व्यवस्थापन महाशाखा र श्रम सम्बन्ध तथा सामाजिक संरक्षण महाशाखा गाभेर श्रम सम्बन्ध तथा आप्रवासन महाशाखा प्रमुखमा भने साबिकको वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख पिताम्बर घिमिरेले बाजी मारेका छन्। युवाबाट आयातित श्रम सम्बन्ध तथा सामाजिक संरक्षण महाशाखा प्रमुख मनिता श्रेष्ठलाई भने महाशाखा गाभिएर फाजिलमा परेपछि राष्ट्रिय युवा परिषद्को अस्थायी दरबन्दीमा व्यवस्थापन गरिएको छ। आन्तरिक रोजगार व्यवस्थापन महाशाखा गाभेर बनेको युवा महाशाखा प्रमुख भने ४० वर्षका युवा सहसचिव हेमराज तामाङलाई बनाइएको हो।

युवा, श्रम तथा रोजगार मन्त्रालयले सहसचिवको आन्तरिक सरूवा गरेर व्यवस्थापन गरेको छ। युवाबाट आएकी मनितालाई मन्त्रालयबाट आउट गरेर राष्ट्रिय युवा परिषद्मा व्यवस्थापन गरिएको हो।

मन्त्रालयमा रहेको सुब्बासहितका राजपत्र अनंकित कर्मचारीको दरबन्दी ३ वर्षपछि स्वत: खारेज हुनेछ। उक्त कुरा संगठन संरचना र दरबन्दी तेरिजमै प्रस्ट रूपमा उल्लेख गरिएको छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #पिताम्बर, #बाबुराम भण्डारी, #मनिता श्रेष्ठ, #हेमराज तामाङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ