प्रधानमन्त्री कार्यालयमा काजका दुई सहसचिवमध्ये एक घटे
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको काजमा रहेका दुई सहसचिवमा एकजना घटेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहसचिव गोपालप्रसाद अर्याल र लेखनाथ ज्ञवाली काजमा लगिएका थिए। उनीहरूमध्ये ज्ञवाली राजीनामा दिएका हुन्। अब अर्याल मात्र बाँकी छन्।
लेखनाथ ज्ञवाली जेष्ठताका आधारमा गत माघमा सहसचिवमा बढुवा भएका थिए। सहसचिवमा बढुवा भएपछि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काजमा खटाइएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कर्मचारी विवरणमा सहसचिव ज्ञवालीलाई कुनै जिम्मेवारी दिएको उल्लेख छैन। सहसचिव ज्ञवाली असोज २७ गते ५८ वर्षे उमेर पूरा भएर अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनले राजीनामा दिएर बाटो तताएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा लगिएका दुई सहसचिवमध्ये गोपालप्रसाद अर्याललाई हेलो सरकार व्यवस्थापन सम्बन्धी निर्देशिका परिमार्जन तथा गुनासो व्यवस्थापन सम्बन्धी जिम्मेवारी दिइएको छ। ज्ञवालीले राजीनामा दिएपछि अब अर्याल प्रधानमन्त्री कार्यालयमा काजका एक्ला सहसचिव बनेका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस