युएनमा बालेनको सम्बोधन, ‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले युद्धका लागि हतियार सहजै विश्वका विभिन्न ठाउँमा पुग्ने भए पनि किसानका लागि मल र इन्धनको आपूर्ति सहज हुन नसकेको भन्दै प्रश्न उठाएका छन्।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विश्वले युद्धका लागि प्रभावकारी आपूर्ति प्रणाली बनाए पनि खाद्यान्न उत्पादनका लागि आवश्यक सामग्रीको आपूर्ति प्रणाली कमजोर बनाएको टिप्पणी गरे।

‘विश्वका विभिन्न ठाउँमा युद्धका हतियार समयमै पुग्छन्। तर किसानका लागि मल र इन्धनको आपूर्ति सहज हुँदैन,’ उनले भने, ‘यसले हामीले कस्तो विश्वव्यवस्था निर्माण गरेका छौं भन्ने प्रश्न उठाउँछ।’

प्रधानमन्त्री शाहले दक्षिण एसियाली क्षेत्रका मुलुकहरू पनि जलवायु संकट र युद्धका असरबाट प्रभावित भइरहेको बताए।बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकालगायतका देशले जलवायु परिवर्तन तथा युद्धबाट सिर्जित संकट भोगिरहेको उनले उल्लेख गरे।

जलवायु परिवर्तन र युद्धका कारण सिर्जित संकटले विश्वव्यापी सहकार्यको वर्तमान व्यवस्थाका कमजोरी उजागर गरेको उनको भनाइ थियो। प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनको केन्द्रमा आफू नभई विश्वका कमजोर समुदायको आवाज रहेको बताए।

प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनको केन्द्रमा आफू नभई विश्वका कमजोर समुदायको आवाज रहेको बताए। यस वर्ष महासभालाई सम्बोधन गर्ने सबैभन्दा कम उमेरका सरकार प्रमुख आफू भएको जानकारी पाएको उल्लेख गर्दै उनले त्यसलाई व्यक्तिगत उपलब्धिका रूपमा भन्दा कमजोर समुदायको आवाज उठाउने अवसरका रूपमा प्रस्तुत गरे।

विश्वको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने क्षमता रहेको अवस्थामा किसानलाई सम्मानजनक जीवनयापनका लागि आवश्यक साधनबाट वञ्चित राख्न नहुने उनको धारणा थियो।किसानले खाद्यान्न उत्पादन गर्न आवश्यक मल, इन्धन र अन्य साधन सहज रूपमा पाउने व्यवस्था गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको उनले बताए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ