उच्च अदालतका ‘टप-फाइभ’ महिला न्यायाधीश


काठमाडौं। उच्च अदालतको शीर्ष पाँच ‘टप-फाइभ’मा पर्ने न्यायाधीशमा यमुना भट्टराई, शान्ता सेढाई सापकोटा, बबिता उप्रेती, शकुन्तला घिमिरे र राज्यलक्ष्मी बज्राचार्य हुन्। उच्चमा रहेका ‘टप-फाइभ’ महिला न्यायाधीश एउटै मितिमा नियुक्त भएका हुन्। २०७३ साल पुसमा सुशीला कार्की प्रधानन्यायाधीश एवं न्याय परिषद्को अध्यक्ष हुँदा बहुमतका आधारमा नियुक्त भएका ८० जनामध्ये ६ जना महिला न्यायाधीश थिए। यिनीहरूमध्ये शान्तिसिंह थापा सर्वोच्चमा गइसकेकी छिन्। उक्त लटका बाँकी ५ महिला उच्च अदालतमै सिनियर न्यायाधीशको भूमिकामा देखिन्छन्। सबै कानुन व्यवसायीको पृष्ठभूमिबाट न्यायाधीश बनेका हुन्।

उच्च अदालत पोखराको बागलुङ इजलासमा रहेकी यमुना उच्च अदालतभित्रै ‘टप-थ्री’ न्यायाधीशमा पर्छिन्। उनलाई सर्वोच्चमा ल्याउन न्याय परिषद्का सदस्य महेश नेपालले जोडबल गर्दा पनि सपना प्रधान मल्ल टेकनारायण कुँवरको पक्षमा उभिदा ४ जना न्यायाधीश मात्र सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएको चर्चा छ। यमुनाभन्दा अगाडि दिपायलका कायममुकायम मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र उच्च अदालत विराटनगर धनकुटा इजलासमा नेतृत्व गरिरहेका न्यायाधीश कृष्णलाल भट्टराई रहेका छन्। ३ वटा उच्च अदालतमा मुख्य न्यायाधीश रिक्त भएकाले महिला र वरिष्ठ भएका हिसाबले यमुनाको पनि सम्भावना देखिन्छ। विशेष अदालतको सहस्य समेत रहेकी यमुना उच्चको महिला न्यायाधीशमध्येमा एक नम्बरमै पर्छिन्।

यमुनापछि शान्ता सेढाइ सापकोटा उच्चमा रहेकी महिला न्यायाधीश हुन्। उनी पनि ‘टप-फिप्टिन’भित्र पुग्न लागेकी छिन्। शान्ता हाल वैदेशिक रोजगार न्यायाधिकरण अध्यक्ष हुन्।

महिलाबाट उच्चमा तेस्रो स्थानमा रहेकी न्यायाधीश बबिता उप्रेती हो। उप्रेती हाल उच्च अदालत पाटन, हेटौडा इजलासमा कार्यरत छिन्। जनक पाण्डे सर्वोच्चको न्यायाधीशमा सिफारिस भएपछि उप्रेतीले उक्त इजलासको नेतृत्व गर्ने भएकी हुन्।

महिलाबाट उच्च अदालतको चौथो स्थानमा रहेकी न्यायाधीश शकुन्तला घिमिरे हुन्। हाल उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा कार्यरत छिन्।

उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त हुँदा राज्यलक्ष्मी बज्राचार्य ८० औं स्थानमा नियुक्त भएकी थिइन्। हाल उनी ३० स्थानबाट अगाडि बढीसकेकी छिन्। बज्राचार्यले हाल उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाको नेतृत्व गरिरहेकी छिन्। उच्चका ‘टप-फाइभ’ महिला न्यायाधीशभित्र पर्न उनी पनि सफल भएकी हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ