इनरुवामा घरका छतमा हेलिकोप्टर बस्न खोजेपछि…


इनरुवा । शनिबार साँझ सुनसरीको सदरमुकाम इनरुवामा एक्कासी एउटा हेलिकोप्टर देखा पर्‍यो । इनरुवाको सखुवागाछी चौकमा युवाहरू गफ गर्दै बसिरहेका थिए । बेलुकाको अन्दाजी ६ बजेतिर सखुवागाछीका घरका छतहरूमा हेलिकोप्टर देखा परेर घरको छतमा बस्न खोजेपछि मान्छेहरु आत्तिन थाले । उक्त हेलिकोप्टर विद्युतको हाइटेन्सनमा ठोकिन खोजे जस्तो पनि देखिन्थ्यो । धेरैले  ल्या हाइन्टेन्सनमा ठोकियो भन्दै कराउन थाले ।

बाक्लो बस्ती रहेको इनरुवाको सखुवागाछीमा घरको छतबाटै पिलिक्क-पिलिक्क लाइट बाल्दै हेलिकोप्टर खस्न खोजे जस्तो गरेपछि मान्छेहरू तर्सिन, आत्तिन थाले । कुलेखानीकाे हाइटेन्सन लाइनमा ठोकिन खोजेको फिस्टेल एयरको हेलिकोप्टर त्यसलाई नछाेई उत्तरतर्फ रहेकाे हिलाम्मे पानी भएको धानखेतमा जोतिन पुग्यो ।

सुरुमा त प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको घर सखुवागाछीमै रहेकाले हेलिकोप्टर त्यहिं आएको धेरैको अनुमान थियो । तर एकछिनपछि धानखेतमा हेलिकोप्टर खसेको भन्दै मान्छेहरू दौडादौड गर्न थाले ।

धानखेतमा हिलाम्मे भएर हेर्ने पुग्दा चालकदलका दुई सदस्यसहित काठमाडौं भ्यूटावरका ठेकेदार मनोज भेटवाल हेलिकोप्टरमा रहेका थिए । दुर्घटना हुनबाट बालबाल जोगिएको उक्त हेलिकोप्टर धानखेतबाट उद्धार गरेर नजिकैको चौरमा ल्याएर राखियो । तर सुनसरी प्रहरीले चौरमा सुरक्षित रुपमा अवतरण भएको भनेर मिडियामा खबर गर्न भ्याइसकेको देखियो । प्रहरीले ठाउँको ठाउँ गलत सूचना कसरी दिन्छ भन्ने यो गतिलो उदाहरण हो । प्रत्यक्षदर्शी हुँदा र उक्त घटनामा प्रहरीको सूचना प्रवाह हेर्दा प्रहरीले छानबिन गर्नुपर्ने घटनालाई पुरै ढाकछोप गरेको देखिन्छ ।

सुरुमा हेलिकोप्टरका क्याप्टेनले काठमाडौंबाट विराटनगरका लागि चार्टर गरेको हेली लाेकेशन थाहा नभएको कारण यहिँ ल्याण्ड गर्नुपरेकाे दाबी गरेका थिए । हिलाे धानखेतबाट सुख्खा ठाउँमा सारिएपछि सुरक्षित अवतरणको हौवा फिजाईयो । साथै सवार यात्रुले सर्वसाधारणलाई फाेटाे भिडियो खिच्न पनि अवरोध खडा गरियो ।

मानिसहरू शंकास्पद भएपनि नभए पनि प्रहरीले नियन्त्रणमा लिएर छानविन गर्नुपर्ने उक्त घटना प्रहरी प्रशासनले त्यसै फासफुस बनायो । सुरुमा आमा बिरामी भएर खनार हिडेकाे भेटवालको भनाइ थियो । पछि उनले विराटनगर हिडेको भन्दै कुरा फेरे ।

काठमाडौं भ्युटावरका ठेकेदार मनोज भेटवाल प्रहरीसँग कुरा मिलाउँदै

जथाभावी लापरवाही तरिकाले उक्त हेलिकोप्टर सखुवागाछीमा उडेकाले आकस्मिक अवतरणका नाममा सत्यतथ्य छानबिन नगरी गन्तव्यतर्फ पठाउनुले राज्यसंयन्त्रमाथि थप शंका उब्जिएको छ ।

क्याटेगोरी : प्रदेश, विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com