मेडिसिटीमा जागिर खाने कोशीका डाक्टर पन्त स्वास्थ्य मन्त्रालयको सम्पर्कमा


काठमाडौं । कोशी अस्पतालका कन्सलटेन्ट रेडियोलोजिष्ट (नवौं तह) डा. ओमबिजु पन्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पर्कमा आएका छन् ।  उनी साढे तीनवर्षदेखि सरकार र पदाधिकार रहेको कोशी अस्पतालसँग सम्पर्कबिहीन अवस्थामा रहेका थिए ।

मन्त्रालयले डा. पन्तलाई विदा स्वीकृत नगराई सेवामा अनुपस्थित रहेकाले सेवाबाट बर्खास्त गर्न स्पष्टीकरण सोध्न सार्वजनिक सूचना जारी गरेपछि उनी स्वास्थ्य मन्त्रालयको सम्पर्कमा आएका हुन् ।

स्वास्थ्य मन्त्रालयले कोशीका कन्सलटेन्ट रेडियोलोजिष्ट डा. पन्तलाई स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (१)(ज) को कसुरमा सोही ऐनको दफा ७२(ख)१ बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी बर्खास्त गर्ने प्रक्रिया अघि बढाएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार उनले आफूलाई हटाउनु पूर्व एकपटक पनि स्पष्टीकरण नसोधिदिएको व्यहोराको स्पष्टीकरण पेश गरेका छन् ।  डा. पन्तले विभिन्न कारण देखाउँदै आफ्नो बचाउ गरेको मन्त्रालय स्रोतको भनाइ छ ।

मन्त्रालयले उनलाई स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (१) ज को कसुरमा कारवाही किन नगर्ने ? नगर्नुपर्ने कुनै कारण भए सुबद प्रमाणसहित ७ दिनभित्र स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना निकालेको थियो । मन्त्रालयले दिएको समयसीमाभित्रै स्पष्टीकरण बोकेर डा. पन्त स्वास्थ्य मन्त्रालयको सम्पर्कमा आएका हुन् ।

यता कोशी अस्पतालबाट स्वास्थ्य मन्त्रालयलाई जानकारी नै नदिई ‘गायब’ भएका डा. पन्त नेपाल मेडिसिटी अस्पतालमा रहेको स्वास्थ्य लाइभले यसअघि नै खुलासा गरिसकेको छ ।

स्वास्थ्य लाइभको खोजीमा डा. पन्तले साढे तीनवर्षदेखि ललितपुरको भैंसपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा जागिर खाइरहेको फेला परेको थियो ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com