स्वास्थ्य लाइभ प्रभाव

काेराेना पाेजेटिभलाई नेगेटिभ रिपोर्ट दिएर सामाजिक अपराध गर्ने गिरोह प्रहरीको नियन्त्रणमा

प्रहरीको अपराध महाशाखाले कान्तिपुर र नागरिक अस्पतालका ल्याब सिल गर्‍यो


काठमाडौं । वैदेशिक रोजगारीमा जाने व्यक्तिको नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोह प्रहरी अपराध महाशाखाको फन्दामा परेको छ ।

नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहका नाइके प्रसन्न कुमार झा, नागेन्द्र कुमार यादव लगायतलाई प्रहरीको अपराध महाशााााखाले नियन्त्रणमा लिएको छ ।

वैदेशिक रोजगारीमा जानेको स्वाबको नमूना समेत नलिई  भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.बाट नक्कली रिपोर्ट बनाएको महाशाखाको प्रारम्भिक निष्कर्ष छ ।

नक्कली पीसीआर रिपोर्ट बनाउँदा नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिएको महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई  हस्पिटलबाट जारी भएका ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्टसहित एयरपोर्ट अगाडिबाट पक्राउ गरिएको हो । उक्त हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई समेत फेला पारी नियन्त्रणमा लिएको महाशाखाले जानकारी गराएको छ ।

त्यस्तै काठमाडौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्टसहित सोही अस्पताल अगाडिबाट महाशाखाको टोलीले समातेको छ ।  प्रहरीले उक्त अस्पतालको ल्याबका कर्मचारी माधव मैनालीलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।

स्वाब संकलन तथा परीक्षण नै नगरी कान्तिपुर अस्पताल प्रा.लि. बाट पीसीआर टेष्ट नेगेटिभ भनि उल्लेख भएका ४ थान नक्कली पीसीआर परीक्षण रिपोर्टसहित उनीसहित चारजना व्यक्तिलाई  महाशाखाबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुबै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट ग्यारेन्टी गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र पीसीआर टेष्ट दर्ता रजिष्टरहरु समेत महाशाखाको टोलीले नियन्त्रणमा लिएको छ ।

फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको अपराध महाशाखाको भनाई छ । दुबै अस्पतालका पीसीआर ल्याबहरू सिल गरि पीसीआरसम्बन्धी सबै सेवा हाल लाई बन्द गरिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको महाशाखाले जनाएको हो ।

प्रारम्भिक अनुसन्धानमा के भेट्यो प्रहरीले ?

अपराध महाशाखाकाअनुसार प्रारम्भिक अनुसन्धानमा अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ पीसीआर रिपोर्ट दिने गरेको फेला परेको छ । उक्त ल्याबहरुमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरि रिपोर्ट दिने गरेको पाइएको छ ।

अपराध महाशाखाले अनुसन्धानका क्रममा कतिपय पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको सिटी भ्यालू तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने गरेको तथा पिसिआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको भन्ने खुल्न आएको जनाएको छ ।

अस्पतालहरुले केहि बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिई सामूहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको र सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाब संकलन गरि विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ  ।

त्यस्तै बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरुलाई पीसीमार रिपोर्ट नेगेटिभ बनाइदिने भनि प्रति व्यक्ति १० हजार रुपैयाँसम्म असुल गरेको प्रहरीले फेला पारेको छ । क्यूआर कोर्डबाट स्क्यान गरी हेर्ने मिल्ने गरी सक्कली जस्तै बनाउने गरेको अपराध महाशाखाले तथ्य फला  पारेको छ ।

पक्राउ परेका व्यक्तिहरु :-

१. जिल्ला धनुषा बिदेह नगरपालिका वडा नं.४ घर भई हाल जि.ललितपुर ग्वार्को बस्ने बर्ष २५ को रोसन कुमार छिट्टान

२. जिल्ला धनुषा छिरेश्वर न.पा.वडा नं.१ घर भई हाल का.जि.गौशाला बस्ने बर्ष २५ को नागेन्द्र कुमार यादव ,

३. जिल्ला काभ्रेपलान्चोक तेमाल गा.पा.५ घर भई हाल जि.भक्तपुर सुर्यबिनायक न.पा.वडा नं.५ सल्लाघारी बस्ने बर्ष २९ को माधव मैनाली,

४. जिल्ला सर्लाही बलरा न.पा.वडा नं.७ घर भई हाल जि.भक्तपुर कौशलटार बस्ने बर्ष २४ को नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा,

फरार रहेका व्यक्तिहरु :

१. जिल्ला रौतहट राजदेवी न.पा. ४ बसतपुर घर भई हाल भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालको पीसीआर ल्याबका सञ्चालक अ. बर्ष ४० को भावेश मिश्र,

२. हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं ३२ पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल प्रा.लि. को पीसीआर ल्याबका सञ्चालक अ. बर्ष ४० को निर्मल गिरी,

बरामद सामग्रीहरुः

१. पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएको कम्प्युटर मनिटर थान १, ल्यापटप थान १ र सीपीयू थान ३,

२. पिसिआर दर्ता रजिष्टरहरु, नक्कली पीसीआर रिपोर्टहरु, रसिद प्याडहरु,

३. मोबाइल थान-५,

क्याटेगोरी : सुशासन
ट्याग : ## नागरिक कम्युनिटी अस्पताल भक्तपुर, #कान्तिपुर अस्पताल, #नक्कली पीसीआर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com