वीर अस्पतालको सर्जिकल भवनबाट कोभिडबाहेकको सेवा सुरु


काठमाडौं । उद्घाटन गरेको करिब ८ महिनापछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको सर्जिकल भवनबाट कोभिडबाहेकको सेवा नियमित सरु भएको छ । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीरका प्रशासकीय अधिकारी प्राध्यापक डा. भुपेन्द्र कुमार बस्नेतले सीमित जनशक्तिबाटै भएपनि सेवा सुरु गराएका छन् ।

सर्जिकल भवनमा सेवा दिन सरकारले ८ सय ३१ जना चिकित्सकलगायतको दरबन्दी स्वीकृत गरेको छ । तर, जनशक्तिको बाहना देखाएर गरिब बिरामीलाई सेवाबाट बन्चित गर्नु हुँदैन भनेर बस्नेतले कोभिडमा लिएका केही जनशक्तिको उचित व्यवस्थापन गरी सर्जिकल भवनबाट नन्कोभिड सेवालाई अगाडी बढाएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २७ असारमा सर्जिकल भवनको उद्घाटन गरेका हुन् । कोरोना बढेर बिरामी राख्ने स्थान अभाव हुँदा वीरको नयाँ सर्जिकल भवनमा राखेर उपचार सुरु गरिएको थियो । तर, अब भने जुन उदेश्यले भवन बनाइएको हो, त्यही उदेश्य अनुसार अगाडि बढाउने अधिकारीहरुले बताएका छन् । अब सर्जरी सेवालाई तीव्रता दिइने भएको छ । सामान्य सर्जरीका लागि समेत गरिब बिरामी महँगो शुल्क तिरेर निजीमा जान बाध्य हुँदै आएका थिए ।

वीर अस्पतालका नयाँ सर्जिकल भवन सात तलाको रहेको छ । ग्राउण्ड फ्लोरमा रेडियोलोजीको सिटी, एमआरआई, अल्ट्रासाउण्डलगायतको सेवा संचालनमा आएको छ । तीन तलासम्म कोभिड बिरामी राखिएको थियो । तर, अहिले कोरोना केस नभएपछि दोस्रो तलामा मात्रै कोभिडका बिरामी भर्ना गरिएको वीर अस्पताल कर्मचारी युनियनका सचिव दिपक मुडवरीले बताए ।

तेस्रो तलामा अस्पतालको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी (सिटिभिएस) सेवा, जनरल सर्जरी सेवा सुरु भएको छ । वीरले सर्जिकल भवनमा ननकोभिडका लागि २८ वेड आइसियु, कोभिडका लागि ५१ वेड आइसियु र सर्जरीका लागि १८ वेड आइसियु राखेको छ । नन्कोभिड २० आइसियुमा बिरामी छन् ।

पाँचौं तलामा अप्रेसन थ्रिएटर राखिएको छ । केही दिनमा अप्रेसन थ्रिएटर संचालन हुनेछ । सबैभन्दा माथिल्लो तलामा न्याम्स अफिस राखिएको छ । डा. बस्नेतका अनुसार नयाँ भवनबाट वाड, आइसियू रेडियोलोजी सेवा फुल फेजमा संचालनमा आएको छ । अपरेशन थ्रिएटर केही दिनबाट संचालनमा आउने छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीर अस्पताल, #केपी ओली, #दीपक मुडवरी, #नन् कोभिड सेवा, #वीरका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेत, #सर्जिकल भवन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com