सञ्चारमन्त्री कार्कीको पहलमा प्राप्त एम्बुलेन्समा षडानन्दका मेयर उदासको घिनलाग्दो राजनीति


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा प्राप्त एम्बुलेन्समा भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले घिनलाग्दो राजनीति गरेका छन् ।

सञ्चारमन्त्री कार्कीले गत चैत्र ३ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नम्बर ७ दिङ्लास्थित महात्मा गान्धी मेमोरियल अस्पतालको समुद्घाटन गर्दै भारतीय राजदूतावासमार्फत एम्बुलेन्स पनि प्राप्त हुने उद्‌घोष गरेका थिए । फागु पूर्णिमाको दिन पारेर भारतीय राजदूतावासको सहयोगमा बनेको उक्त अस्पतालको उद्‌घाटन समारोहमा बोल्दै  सञ्चारमन्त्री कार्कीले एम्बुलन्स ल्याएर सदुपयोग गर्न आग्रह गरेका थिए ।

सञ्चारमन्त्री कार्कीसँगै गान्धी अस्पताल उद्‌घाटन समारोहमा सहभागी हुन दिङ्ला पुगेकी भारतीय राजदूतावास काठमाडौंकी नियोग उप-प्रमुख नामग्य सी. खम्पाले पनि एम्बुलेन्स दिने कार्कीको भनाइमा समर्थन जनाएकी थिइन् । त्यो बेला षडानन्द नगरपालिकाको मेयरको भूमिकामा वीरबल राई थिए । नियोग उप-प्रमुख खम्पाले दिङ्लामा जनाएको प्रतिबद्धता अनुसार दिङ्‌लालाई आज एउटा एम्बुलेन्स उपलब्ध गराइएको छ । उक्त एम्बुलेन्स बुझ्न षडानन्द नगरपालिकाका नवविर्वाचित मेयर उदास लैनचौर पुगेका थिए । लैनचौरबाट एम्बुलेन्स लिएर भोजपुर नपुग्दै उनले एम्बुलेन्समा घिनलाग्दो राजनीति गरेका छन् ।

यो एम्बुलेन्स सञ्चारमन्त्री कार्कीको पहलमा प्राप्त हुन लागेको गत चैतमै स्वास्थ्य लाइभले समाचार प्रकाशित गरिसकेको छ । तर षडानन्द नगरपालिका एमालेले भने आफूहरुले नै एम्बुलेन्स ल्याए जस्तो गरेर प्रचार गरेको पाइन्छ ।

उक्त कार्यक्रममा सञ्चारमन्त्री कार्कीले आफ्नै पहलमा भारतीय राजदूतावासबाट भोजपुर रेडक्रस सोसाइटीलाई दिएको एम्बुलेन्स सदुपयोग नभएको गुनासो गर्दै दिङ्लामा आउने एम्बुलेन्स सदुपयोग गर्न आग्रह गरेका थिए ।

आज षडानन्द नगरपालिकाको मेयरको हैसियतमा एम्बुलेन्स बुझ्न आएका उदासलाई आफ्नै पार्टीका कार्यकर्ताहरुले गलत प्रचार गरेर ‘हाइट’ घटाइदिएको चर्चा चल्न थालेको छ । उनी पार्टीको गलत प्रचारको शिकार बनेको छन् । यता सञ्चारमन्त्री कार्कीसँगै भोजपुर गएका भारतीय राजदूतावासका अधिकारीहरू पनि एम्बुलेन्स बुझ्न आउने मेयर उदासीको दाबी सुनेर आश्चर्यचकित भएका छन् ।

‘मैले निर्वाचनको बेलामा पनि एम्वुलेन्स सञ्चालनमा ल्याउछु भनेको थिए । खासमा हामीले आफ्नै लगानीमा किन्ने सोचेको भएपनि अहिले हामीले माथि पहल गरेर एम्बुलेन्स ल्याउन सफल भएका छौं’, षडानन्द नगरपालिकाका प्रमुख उदासले मिडियालाई प्रतिक्रिया दिँदै भनेका छन् । यो प्रतिक्रिया र भारतीय राजदूतावासमार्फत एम्बुलेन्स पाउने प्रक्रिया हेरेपछि मेयर उदासले घिनलाग्दो राजनीति गरेको सार्वजनिक चर्चा सुरु भएको हो ।

डा. लोचन कार्कीको पहलमा भोजपुरको अरुण गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीले पनि उपहारस्वरूप एम्बुलेन्स प्राप्त गरेको छ । यसमा भने अरुण गाउँपालिकाका जनप्रतिनिधिले घिनलाग्दो राजनीति गरेको पाईँदैन ।

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com