संगिताको ‘किर्ते’ डकुमेन्टमा अख्तियारले जवाफ माग्याे, जोगाउन स्वास्थ्यमा चलखेल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ डा. संगिता मिश्राको ‘किर्ते’ डकुमेन्टमाथि अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । उनले स्वास्थ्य सेवाको एघारौं तहमा गलत विवरण पेश गरी जागिर खाएको विषयमा अख्तियारले स्वास्थ्य मन्त्रालयसँग जवाफ मागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मदन भुजेलले डा. मिश्राले एघारौं तहमा जागिर खादा पेश गरेर कागजातका विषयमा अख्तियारले जवाफ माग गरेको पुष्टि गरे । उनले त्यो विषयमा स्वास्थ्य मन्त्रालयले जवाफ पठाउने तयारी गरिरहेको बताए । ‘अख्तियारले डा. संगिता मिश्राले एघारौं तहमा प्रतिस्पर्धा गर्दा पेश गरेको कागजात मागेको छ । उजुरी परेपछि अख्तियारबाट यस्तो पत्र आइरहन्छ । यसको जवाफ दिने तयारी हुँदैछ’, सहसचिव भुजेलले भने । अख्तियारले प्रतिनिधि पठाएर कागजात लाने र पत्रमार्फत सम्बन्धित निकायसँग जवाफ माग्ने गरेको उनले सुनाए । यो विषयमा लोकसेवा आयोगसँग कागजात हुने भएकाले त्यता पनि कागजात माग्दा उपयुक्त हुने सहसचिव भुजेलको भनाइ छ ।

स्वास्थ्य सेवाको एघारौं तहमा स्वास्थ्य सेवाको अधिकृत एघारौं तहमा जागिर खान एमबीबीएस गरेपछि ७ वर्ष काम गरेको हुनुपर्ने प्रावधान रहेको छ । तर, डा. मिश्रा एमबीबीएस गरेको ६ वर्षमै अमेरिकामा पढ्न गएको अवधिमा पनि विराटनगरस्थित नोबेल अस्पतालमा काम गरेर किर्ते कागजात पेश गरेको खुल्न आएको छ । यो विषयमा स्वास्थ्य लाइभले नोबेलका सञ्चालक सुनिल शर्मासँग बुझ्न खोज्दा ‘म कसैलाई विगार्ने काम गर्दिन’ भन्ने जवाफ दिए ।

अमेरिकामा पढ्न गएकी डा. संगिताले तत्कालीन स्वास्थ्य सचिव डा. प्रविण मिश्रलाई प्रयोग गरेर त्यो अवधिमा पनि नोबेल अस्पतालमा काम गरेको कागजात तयार पारेर पेश गरेको आरोप छ । यो विषयमा अख्तियारले अनुसन्धान थालेको हो ।

लोकसेवा आयोगका निवर्तमान अध्यक्ष मैनाली उमेश मैनाली गलत विवरण पेश गरेर जागिर खानेमाथि अख्तियारले छानबिन गर्न सक्ने बताउँदछन् । लोकसेवाबाट पास भएर जागिर खाएको भएपनि गलत विवरण बुझाएको पाइए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्न सक्ने मैनालीको भनाइ छ ।

यता अख्तियारले पत्र काटेसँगै ‘केस’ कमजोर बनाउन स्वास्थ्य मन्त्रालयकै उच्च अधिकारीहरू लागिपरेका छन् । अख्तियारलाई लटरपटर जवाफ दिएपछि केस तामेलीमा बस्ने भन्दै स्वास्थ्यका अधिकारीहरु त्यसमा लागिपरेका हुन् । ‘अख्तियारले स्वास्थ्यलाई छानबिन गर भनेको छैन । प्रतिनिधि पठाएर कागजात मागेको हैन । यस्ता पत्र आउने र जवाफ दिने निरन्तर प्रक्रिया हो । त्यसैले त्यहीं अनुसारको जवाफ तयार पार्न माथिको आदेश छ’, अख्तियारका एक कर्मचारीले स्वास्थ्य लाइभसँग भने ।

अख्तियारले जवाफ मागेसँगै केस कमजोर बनाउन संगित मिश्रा शक्ति केन्द्र ध्याउन थालेको स्वास्थ्यका अधिकारीहरू सुनाउँछन् । संगितालाई जोगाउन स्वास्थ्यमा व्यापक चलखेल सुरु भएको ती अधिकारीहरु बताउँछन् ।

क्याटेगोरी : सुशासन
ट्याग : ## प्रमुख विशेषज्ञ, ## लोकसेवा आयोग, ##डा संगिता मिश्र, ##मदन भुजेल, #अख्तियार दुरूपयोग अनुसन्धान आयोग, #किर्ते एघारौं तह, #किर्ते कागजात, #लोकसेवा आयोग पूर्व अध्यक्ष उमेश मैनाली, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com