बिरामी ‘उपचार गर्न जाँदैनन्’ मेडिसिटीका चिकित्सक, चिकित्सकले नहेर्दा बिरामीको मृत्यु, तीन कर्मचारी निलम्बित


काठमाडौं । नेपाल मेडिसिटी अस्पतालका चिकित्सक बिरामीको उपचारमा नगएको पुष्टि भएको छ । मेडिसिटीमा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा नेपालका बरिष्ठ चिकित्सकहरू आवद्ध भएको अस्पताल भनिएपनि त्यहाँका चिकित्सक नाम मात्रैको रहेको पाइएको हो । बिरामीको उपचार गर्न नजाने चिकित्सकलाई अस्पतालले निलम्बन गरेको छ । निलम्बन गरेर उनीहरुमाथि थप छानबिन भइरहेको अस्पतालले जनाएको छ ।

गत १७ जेठमा स्वास्थ्य उपचारका लागि नेपाल मेडिसिटी अस्पताल पुगेका पोखराका योगेन्द्र बस्नेतको निधन उपचारमा चिकित्सक नगएर भएको परिवारले बताएका छन् । अस्पतालले पीडितलाई दिएको जानकारी पत्रमा पनि कमजोरी स्वीकार गरेको छ । स्वास्थ्य लाइभलाई प्राप्त मेडिसिटीले मृतक योगेन्द्रका छोरा समिर बस्नेतलाई दिएको जानकारी पत्रले  कमजोरी मात्रै स्वीकार गरेको छैन चिकित्सकले बिरामी हेर्दैनन् भन्ने स्पष्ट सन्देश दिएको छ ।

 

योगेन्द्र बहादुर बस्नेतको निधन चिकित्सककै लापरबाहीले भएको पिडित पक्षले आरोप लगाएका छन् । सामान्य स्वास्थ्य जाँच गर्न मेडिसिटी अस्पताल पुगेका योगेन्द्रको चिकित्सकले पित्त थैलीको अपरेशन गर्नुपर्ने बताएपछि २२ गते ल्याप्रोस्कोपी विधिद्वारा शल्यक्रिया गरिएको थियो । तर, बिच-बिचमा स्वास्थ्य समस्या आउँदा २५ गते मृत्यु भयो ।

योगेन्द्रका छोरा समिर बहादुर बस्नेतले बताए अनुसार स्वास्थ्य जाँचको क्रममा डा. सुनिल शर्माले पित्त थैलीको शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएको बताएका थिए । शर्माको सल्लाह अनुसार नै शल्यक्रिया गरिएको थियो । पीडितका अनुसार अपरेशन नर्मल भएको र सकिएपछि सामान्य शय्यामा सारिएको थियो । तर, २४ गते बेलुका बिरामीले अपरेशन गरेको भागमा दु:खेको भन्दै नर्सलाई खबर गरिएका थिए । नर्सले जाँच गर्दा रक्तचाप सामान्य देखिएपछि बिरामी ट्वाइलेट गए र त्यही ढलेका थिए । ढल्दा पिता योगेन्द्रको मुख बांगिएको थियो छोरा समिर बताउँछन् ।

बिरामी ढलेपछि चिकित्सक आएका थिए । चिकित्सकको टोलीले स्वास्थ्य जाँच गर्दा सामान्य अवस्था भएको भन्दै बाहिरिएका थिए । ‘बेलुका ८ बजे वेड सार्नेभन्दा फेरी बिरामी ढलेका थिए । सोही रातको ३ बजे बिरामी अचेत भएको र मेडिकल अफिसर आएर कृत्रिम श्वास दिएर आइसीयूमा लगिएको थियो’, छोरा समिर भन्छन् । आइसीयूमा लैजानु पर्ने अवस्था आएपछि मात्रै अस्पतालाका चिकित्सकले भिडियो एक्सरे गरेर आन्तरिक रक्तश्राव भएको भन्दै पुनः अपरेशन गर्नुपर्ने बताएका थिए ।

अपरेशनपछि पनि रक्तश्राव नरोकिएको र ‘मल्टि अर्गान फेल’ भएकाले बिरामीलाई भेन्टिलेटरमा राखिएको पीडितले बताए । भेन्टिलेटरमा राखिएको अवस्थामा बिरामीको जेठ २५ गते मृत्यु भएको थियो । मृत्यु हुनुको मुख्य कारण चिकित्सकको गम्भीर लापरबाही भएको भन्दै पीडित पक्षले सत्यतथ्य छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

पीडित परिवारले अस्पताल प्रशासन समक्ष ६ असारमा छानबिन गरिपाउँ भन्दै निवेदन दिएका थिए । अस्पतालले पीडितको माग अनुसार डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति बनाएको छ । बज्राचार्यका अनुसार छानबिन चलिरहेको छ । उपचारमा नजाने चिकित्सक राजीव मिश्रलाई अस्पतालले निलम्बन गरेको पीडितले बताएका छन् । मिश्रसहित अन्य दुई जना चिकित्सक पनि निलम्बन गरेको छ । तर, नाम सार्वजनिक गरिएको छैन । अस्पतालले पनि उपचारमा कमजोरी भएको स्वीकार गरेकार छ ।

अस्पतालको गल्ति स्वीकार

उपचारमा संलग्न चिकित्सक डा सुनिल शर्माले पीडितलाई दिएको बयान अनुसार जेठ २४ गते राती १० बजे सेकेन्ड कल डा. राजिव मिश्रले बिरामीको स्वास्थ्य अवस्था ठिक भएको भन्दै आफुलाई जानकारी गराएको बताएका छन् । तर, सेकेन्ड कल डाक्टर मिश्रलाई अस्पतालमा गएर जाँच गर्नुभन्दा नगइकन उनले सिनियर चिकित्सकलाई बिरामीको स्वास्थ्य अवस्था ठिक भएको भन्दै जवाफ दिएको पुष्टि भएको छ । पीडितको दबाबपछि अस्पतालले मिश्रलाई सोध्दा हात काटेकाले डिउटीमा नगएको जवाफ दिएका थिए ।

भेन्टिलेटरमा रहेको बिरामीलाई सोडियम र हेमोग्लोबिन कम हुँदाहुँदै चिकित्सकले गम्भीरतापूर्वक नलिनु र बिरामी अचेत भएपछि मात्रै विशेषज्ञ चिकित्सकको खोजी हुनु जनस्वास्थ्यमाथिको गम्भीर खेलवाड हो । पीडित बस्नेतले जेठ २४ गते बेलुका ६ बजेबाट उपचारका लागि कुन-कुन चिकित्सक उपस्थित भए र -के-के उपचार विधि अपनाईयो भन्ने सत्यतथ्य छानबिन गरेर कारबाही गर्न मेडिकल काउन्सिललाई माग गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## नेपाल मेडिसीटी अस्पताल, #झा . राजीव मिश्र, #डा. सुनिल शर्मा, #योगेन्द्र बस्नेत, #लापरबाही, #समिर बस्तेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com