किर्ते प्राध्यापक गिरीको डिजाइनमा वीपीमा ८० करोड अनियमित भुक्तानी अनुमोदन गर्न चलखेल


काठमाडौं ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीको डिजाइनमा ८० करोड अनियमित भुक्तानी अनुमोदन गर्न चलखेल सुरु भएको छ ।

वीपी प्रतिष्ठानमा अनियमित तरिकाले भएका आइसियू, मातृशिशु भवन, अल्ट्रासाउन्ड मेसिन खरिद, फार्मेसी भवन र औषधि खरिद भुक्तानी अनुमोदन गराउन चलखेल सुरु भएको हो । यहिँ शर्तमा रजिष्ट्रारमा डा. सूर्य संग्रौला र अस्पताल निर्देशकमा डा जगत प्रसादलाई नियुक्ति उपकुलपति गिरीले नियुक्तिको सिफारिस गरेको र नियुक्ति भएको चर्चा छ ।

किर्ते प्राध्यापक उपकुलपति गिरीले मातृशिशु भवनको अनियमित तवरले २ वर्ष म्याद थप र ६८ करोड भुक्तानी, आइसियू उपकरण खरिदको १८ करोड, एचडियू खरिदको ९ करोड भुक्तानी गर्न खोजेका छन् । पूर्व अस्पताल निर्देशक डा. गौरी शंकर शाह र बहालवाला रेक्टर डा. गुरु प्रसाद खनालले गिरीका अनियमित भुक्तानीहरु अनुमोदन गर्न अस्वीकार गरेका थिए । नवनियुक्त रजिष्ट्रार संग्रौला र अस्पताल निर्देशक जगत आएलगत्तै उनले फेरि उक्त भुक्तानी अनुमोदन गराउन खोजेका हुन् । यो भुक्तानी अनुमोदनका विषयमा स्वास्थ्य लाइभले नवनियुक्त रजिष्ट्रार डा. संग्रौलासँग प्रतिक्रिया लिन खोज्दा बोल्न चाहेनन् ।  मिटिङमा रहेको र पछि कुरा गरौला भन्दै उनी धेरैपटक पन्छिए ।

यसै हप्ता नवनियुक्त रजिष्ट्रार र अस्पताल निर्देशकसहितको कार्यकारीणी समितिको बैठक बोलाउने उपकुलपति गिरीको तयारी रहेको समितिका एक सदस्यले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

प्रधानमन्त्री एवं वीपी प्रतिष्ठानका उपकुलपति शेरबहादुर देउवासँग लाइन मिलाएर रजिष्ट्रार बनेका डा. संग्रौला र स्वास्थ्यमन्त्रीलाई अस्पताल निर्देशक नियुक्तिमा आर्थिक रूपमा सन्तुष्ट बनाएर बसेको आरोप लागेका गिरीले प्रतिष्ठानमा अझै लूट मचाउन खोजेको वीपी कै कर्मचारी हरूको टिप्पणी छ ।

 

उपकुलपति गिरी किर्ते प्राध्यापक रहेको पुष्टि हुँदा समेत अख्तियार चुप लागेर बसेको देखिन्छ । उनले अख्तियार मिलाएको दाबी गर्ने गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको समेत आफूलाई साथ रहेको गिरीले आफ्ना विश्वाशपात्रहरुलाई सुनाउँने गरेका छन् । उनलाई नहटाई सिनेटमा सहज हुनेगरी रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्त गर्ने कार्यले पनि गिरीको यो दाबीमा दम देखिन्छ ।

वीपी प्रतिष्ठानको रजिष्ट्रारमा डा. सूर्य संग्रौलालाई नियुक्ति गर्नुका पछाडि सञ्चार कार्की र कांग्रेस नेतृ डा. डिला संग्रौला पन्तको ठूलो भूमिका रहेको चर्चा छ । किनकि सूर्य डिलाका श्रीमान् हुन् ।

गिरीको अनियमित १ अर्ब भुक्तानी अनुमोदन होला ?

“किर्ते” प्राध्यापक उपकुलपति गिरीले रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्ति पश्च्यात यसै हप्ता राख्न लागेका कार्यकारीणी समितिको बैठकमा करिब १ अर्ब हाराहारीको अनियमित भुक्तानी अनुमोदन प्रस्ताव गर्ने तयारी गरेको प्रतिष्ठान स्रोतले स्वास्थ्य लाइभलाई बतायो । ‘उपकुलपति गिरीले कार्यकारीणी समितिबाट अनुमोदन गराउने गरि आफ्नो अधिकार क्षेत्र नाँघेर करिब २ अर्व ५० करोडको मातृशिशु भवनको २ वर्ष म्याद थप गर्नुका साथै एकल निर्णयबाट करिव ६८ करोड भुक्तानी गरेका छन् र यो विवादास्पद आयोजना अख्तियारको छानबिमा समेत रहेको छ, हेरम नयाँ रजिष्ट्रार र अस्पताल निर्देशकको यस सम्बन्धमा कस्तो भूमिका रहन्छ’ प्रतिष्ठानको लेखा शाखाका एक अधिकृतले स्वास्थ्य लाइभसँग भन्यो ।

प्रतिष्ठान स्रोतका अनुसार “किर्ते” प्राध्यापक गिरीले सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्र रद्द गर्न निर्देशन दिएको १८ करोडको आईसियू   उपकरण खरिद समेत अदालतको “यथास्थितिमा राक्ने” अल्पकालीन आदेशको अपव्याख्या गर्दै कार्यकारीणी समितिमा अनुमोदन गराउने गरि भुक्तानी गरिसकेका छन् ।

कमिसन मोहमा यसै प्रक्रियाले गिरीले करिब ९ करोडको एचडिपूको समेत भुक्तानी गरिसकेका छन् । अन्य भुक्तानीहरु समेत जोड्दा करिब १ अर्बको भुक्तानी कार्यकारीणी समितिले अनुमोदन गर्नुपर्ने देखिन्छ । यसै भुक्तानीलाई अनुमोदन गर्न र आफ्नो लुटतन्त्र जारी राख्न रिक्त दुई का.स. सदस्यमा समेत गिरीले स्वास्थ्यमन्त्री भवानी खापुङलाई रिझाएर आफ्ना “पपेट” भएर कार्य गर्ने डा. ज्ञानेन्द्र मल्ल र डा. स्मृति कार्कीलाई नियुक्त गराई सम्पूर्ण कार्यकारीणी समिति आफ्नो नियन्त्रणमा राखेका छन् ।

 

निजी मेडिकल कलेज व्यवसायी डा. ज्ञानेन्द्र गिरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति जस्तो गरिमामय पदमा आसिन भएको भोलिपल्टदेखि प्रतिष्ठान अस्तव्यस्त छ । गिरीको प्राध्यापक उपाधी “किर्ते” रहेको र तत्कालिन बिराट अस्पतालका मालिक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले अस्पतालको लेटर प्याडमा लेखेर दिएको आधारमा निजले आफुलाई प्राध्यापक दाबी गरेको प्रमाणित भइसकेको छ ।

‘बालुवाटारमै कमिसन भागबण्डा’ !

बालुवाटार स्रोतका अनुसार रजिष्ट्रार संग्रौलाले आसन्न आम निर्वाचनमा प्रदेश न. १ अन्तर्गत नेपाली कांग्रेसभित्र देउवा पक्षका उम्मेदवारहरुलाई जनही ५ लाख दिने र बालुवाटारलाई एकमुष्ट बुझाउने बाचा गरेका छन् । यसको निमित्त संग्रौला र उपकुलपति गिरीबीच सहकार्य गराउन बालुवाटारमै धेरै चरणको बैठक बसेको बैठकको संयोजन कांग्रेस नेतृ डीला संग्रौला र बीपी प्रतिष्ठानमा करिब २ अर्ब ५० करोडको भवन निर्माण गरिरहेका कांग्रेस केन्द्रिय सदस्य एबं रसुवा कन्स्ट्रक्सनका मालिक मोहन आचार्यले गरेको समेत स्रोतको दाबी छ ।

यता अस्पताल निर्देशकमा भने स्वास्थ्यमन्त्री खापुङ र एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालको चुनावी खर्च व्यवस्थापन गर्ने सर्तमा उपकुलपति गिरीले प्रतिष्ठानका कनिष्ट चिकित्सक डा. जगत प्रसादलाई नियुक्ति गराउन सफल भएको चर्चा छ । डा. जगत तिनै हुन् जसले डा. गिरीका अनेकौं अनियमितताहरुमा साथ् दिंदै आएका छन् । यी सबै कुरा बुझ्न स्वास्थ्य लाइभले वीपी प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रार डा. संग्रौलाईलाई सम्पर्क गर्दा प्रतिक्रिया दिन मानेनन् ।

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #डा. सूर्य संग्रौला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com