कंचनको डाक्टर बन्ने सपना साकार पार्न नवीन सक्रिय


काठमाडौं । आर्थिक अभावका कारण एमबीबीएसमा नाम निकालेर पनि भर्ना हुन नपाएकी कंचन बि. क.को डाक्टर बन्ने सपना साकार पार्न नवीन बि.क. सक्रिय रुपमा लागेका छन् । चीनमा व्यवसाय गर्दै आएका नवीनले कंचनलाई तत्काल भर्ना हुन आवश्यक पर्ने रकम संकलन गरिसकेका छन् ।

नवीनले कंचनको डाक्टर बन्ने सपना साकार पार्न विभिन्न संघ संस्थालाई आर्थिक सहयोगका लागि आह्वान गरेका थिए । नवीन कै आह्वानमा अहिले विभिन्न व्यक्ति र संस्थाबाट झन्डै तीन लाख रुपैयाँ पैसा प्राप्त भइसकेको छ ।

डाक्टर बन्ने सपना साकार पार्न एमबीबीएसमा नाम निकालेर पनि भर्ना हुन नपाएर छटपटिएकी एक पश्चिम रुकुमकी चेली कंचनका लागि आर्थिक सहयोग जुुटाउन नवीन चीनबाट निरन्तर लागिपरेका हुन् ।  उनी सानोमा बोर्डीङ स्कुलमा पढेको हुनाले अहिले सरकारी वा दलित कोटा नपाईने भएकाले आर्थिक सहयोग जुुटाउनु परेको नवीनको भनाइ छ । कंचन अहिले एमबीबीएस पढ्नका लागि किष्ट मेडिकल कलेजमा भर्ना भइसकेको नवीनले स्वास्थ्य लाइभलाई बताए ।

कंचनका बुबा-आमाले छोरी पढाउन भएको सानो टुक्रा खेत पनि ५ लाख रुपैयाँमा बेचिसकेका छन् । उनको जेनतेन गरेर भर्ना भएपनि पाँच वर्षको पढाई पूरा गर्न निकै पैसा लाग्ने नवीन बताउँछन् ।  ‘ जेनतेन गरेर भर्ना गरियो, पढाई पाँच बर्षको हुन्छ, तर अहिले पहिलो बर्ष मात्रै म्यानेज भएको छ, बाँकी ४ बर्ष कसरी गर्ने भन्ने अन्योल छ’, कंचनका लागि आर्थिक सहयोग जुटाइरहेका नवीन भन्छन्,  ‘होस्टेलको फि, किताब कापी, स्टेथस्कोप, बिपी नाप्ने मेसिन तथा अरु मेडिकल ईक्विपमेन्टको लागि अझै अपुग भएको देखिन्छ, सबैको सानो साथ सहयोगले देशले एक असल डाक्टर पाउने छ।’,

एनआइसी एसिया बैंकको महाराजगञ्ज शाखामा रहेको कंचन बि. कको खाता नम्बर १३८७९८७७८२६५२४०१ वा ई-सेवा ९८०९७३६९४९ मा गएर आर्थिक सहयोग गर्न सकिने नवीनले जानकारी दिए ।  अहिले नवीनसहित ४० जनाले कंचनलाई एमबीबीएस पढ्न झन्डै ३ लाख आर्थिक सहयोग गरिसकेका छन् ।

 

यस्तो छ कंचनको याचना ?

नमस्कार म कंचन बि.क. घर पश्चिम नेपाल रुकुम, म त्यसै त रुकुम जस्तो दुर्गम ठाउँकी त्यसैमाथि गरिब परिवारकी बिश्वकर्माकी छोरी । मेरो त्यो गाँउदेखि आजको यहाँसम्मको यात्रा पक्कै सहज थिएनन। मैले जीवनमा धेरै संघर्ष गरेर नर्स पढे । नर्स भएर ग्रान्डी हस्पीटलमा जागीर पनि खाए । यो देश र देशबासीको लागि केही गरौं भन्ने हुटहुटी मेटिएकै थिएन ।  त्यसैले मैले फेरि एमबीबीएसको तयारी गरे ।

जागिर गर्दै एमबीबीएसको तयारी गर्न गाह्रो हुँदो रहेछ । त्यसैले जागिर छोडेर मैंले एमबीबीएसको तयारी गरे । राम्रै मिहिनेत गरेर पढे ।  नाम पनि निकाले तर एमबीबीएसको पढ्न र डाक्टर बन्न म जस्तो गरिब परिवारको चेलीलाई सपना र असम्भव जस्तै हुँदो रहेछ। सानोमा बाउआमाले दुःख गरेर रिन काटेरै भएपनि बोर्डिङ स्कुल पढाउनु भयो ।  त्यसै कारणले गर्दा मैले सरकारी कोटा वा दलित कोटामा एमबीबीएस पढ्न नपाउने रहेछु ।

परिवारले सानो भएको खेतको टुक्रा बेचेर ६ लाख र मामा र दिदीले ऋण लिएर ( ५०+४५ =९५०००/-) खोजी दिनु भयो ।  भर्ना गर्न १३ लाख ८९ हजार ३ सय ८३  रुपैयाँ लाग्ने रहेछ । अझ होस्टेल खर्च १२ हजार महिना लाग्दो रहेछ ।  स्थेस्कोप, बिपी जाच्ने मेसिन, कापी किताब अरु पनि सामाग्रीहरु किन्न टन्नै पैसा लाग्दो रहेछ । डाक्टर पढन साँढे पाँच वर्ष लाग्ने रहेछ । ४५ लाखको हाराहारीमा खर्च लाग्ने रहेछ । पहिलो वर्षको त सबैको साथ, सहयोग र सुभेच्छाले मैले म्यानेज गर्न सफल भए ।

नवीन दाइको अभियानमा जोडिएर मलाई विश्वास गरेर असिम माया र स्नेह पठाउनुहुने सबैलााई धन्यवाद ज्ञापन गर्न मसँग कुनै शब्द छैन । मलाई लाग्छ म एक दिन राम्रो डाक्टर बनेर नेपाल आमाको सेवा गर्नसके भने त्यो नै मेरो तर्फबाट सबैभन्दा ठूलो धन्यवाद हुनेछ। बाँकीको पढाईको लागी प्रदेश सरकारसँग अनुरोध गरेकी छु । हुनपनि सक्छ नहुनपनि सक्छ, बरु हजुरहरुले सक्नुहुन्छ भने मेरो लागि सरकारी सहयोगको लागी पहल गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु । यदि कुनै कारणले मैले सरकारी राहत पाईन भने अर्को वर्ष मेरो पढाईको प्रगति विवरणसहित दोस्रो चरणको सहयोगको लागि हजुरहरुसामु आउने छु ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #आर्थिक सहयोग, #कंचन बिश्वकर्मा एमबीबीएस छात्रा, #ग्राण्डी अस्पताल, #नर्स-डाक्टर, #नवीन बि.क.

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com