कोरोनामा सरकारी जग्गा हडप्ने भूमाफिया इन्द्र चाम्लिङको ८ तले टावर बेवारिसे !


काठमाडौंकोरोनाकालमा जग्गा हडप्ने देवीनगर धोबीखोला करिडोरको भूमाफिया इन्द्र कुमार चाम्लिङको ८ तले टावर बेवासिरे अवस्थामा पुगेको छ ।

भूमाफिया चाम्लिङले काठमाडौं महानगरपालिका वडा नम्बर १० मा पेश गरेको निवेदनमा ५७७ नम्बर कित्ता टहरा कम्पाउण्ड निर्माण नगरेको दाबी गरेका छन् । साथै उनले ५७७ नम्बर कित्ताको जग्गामा आफू अनभिज्ञ रहेको स्पष्ट पारेका छन् ।

काठमाडौं महानगरपालिकाले भूमाफिया चाम्लिङलाई सरकारी/सार्वजनिक जग्गा अतिक्रमण गरी घर/टहरा र कम्पाउण्ड समेत निर्माण गरेको विषयमा यथार्थ बुझ्न खोज्दा ५७७ नम्बर कित्ताको जग्गाको विषयमा अनभिज्ञता प्रकट गरेका हुन् । तर स्वास्थ्य लाइभको खोजीमा भूमाफिया चाम्लिङले उक्त ५७७ नम्बर कित्ता जग्गामा ८ तले जोखिमपूर्ण भवन बनाएका छन् । छोरी स्वोस्तिका चाम्लिङको नाममा रहेको उक्त जग्गा आफूलाई थाहा नभएको उनले दाबी गरेसँगै उक्त टावर अलपत्र परेको हो ।

 

हुन पनि सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगले भूमाफिया चाम्लिङले श्रीमती उमादेवी राई हुँदै स्वोस्तिका चाम्लिङको नाममा पुर्‍याएको उक्त जग्गा सरकारी नै रहेको देखाउँछ । सरकारी जग्गा दुषित दर्ता गराएकाले भूमाफिया चाम्लिङले काठमाडौं महानगरपालिकासँग आफूलाई उक्त जग्गाको विषयमा थाहा नभएको जवाफ दिएको हुन सक्छ ।

त्यसो त भूमाफिया चाम्लिङको ५७७ सँगै जोडिएको १९१ नम्बर कित्ताको सरकारी जग्गाको केही भाग मिचेर ८ तले भवन बनाएकाले पनि आफ्नो हो भन्न सकस परेको हुन सक्छ । उनले ८ तले टावर ५ भागको दुई भाग १९१ कित्ताको सरकारी जग्गामा बनेकाे छ । पिलरमा १६ को डण्डी हालेर साढे दुई तले भवनको नक्सा पास गरेको उक्त भवन ८ तले बनेपछि स्थानीयहरु त्रसित छन् ।

एकतिर सरकारी जग्गा मिचिएको छ भने अर्कोतर्फ भवन संहिता समेत मिचेर बेवारिसे चाम्लिङ टावर बनेको छ । उक्त टावर आधा फिट बाटोतर्फ ढल्किएको छ र कुनैबेला लडेर वरपरका घरहरूलाई समेत क्षति पुर्‍याउन सक्ने काठमाडौं महानगरपालिकाका प्राविधिकहरू बताउँछन् । त्यो टावर साढे दुई तलेसम्म बन्दा कम जोखिम हुने थियो । ८ तले बनाइएकाले ‘भवन बम’ बनेको प्राविधिकहरुको भनाइ छ ।

भूमाफिया चाम्लिङले ५७७ नम्बर कित्ता नम्बर जग्गाको स्वामित्व लिन नखोजेकाले काठमाडौं महानगरपालिकाले डोजर लगाउनु अगाडि नै उक्त चाम्लिङ टावर बेवारिसे बनेको देखिन्छ ।

मालपोत ऐन, २०३४ को दफा २४ (२) प्रयोग गरेर भूमाफिया चाम्लिङले दुषित दर्ता गराएको कित्ता नम्बर ५७७ को जग्गा मालपोत प्रमुखले तत्काल सरकारको नाममा फिर्ता ल्याउन सक्छन् । त्यसका लागि सहजिकरण गर्न आफू तयार रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ तयार रहेकी छिन् । स्वास्थ्य लाइभसँगको कुराकानीमा उनले डा. राजेश झा अहिराजको श्रीमतीको नाममा हालसाबिक भएर दुषित दर्ता भएको ७३८/७३९ को जग्गा भूमाफिया चाम्लिङले दुषित दर्ता गरेको ५७७ कित्ताको जग्गा फिर्ता ल्याउन आफू प्रतिबद्ध रहेको बताइन् ।

उक्त जग्गा फिर्ता ल्याउनका लागि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले समेत पहल गरिरहेका छन् । यो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ले पनि तत्काल छानबिन गर्न आवश्यक देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## इन्द्र चाम्लिङ, #डा. राजेश झा अहिराज, #धोबीखोला करिडोर सार्वजनिक जग्गा हडप्ने, #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #भूमि मन्त्री शशी श्रेष्ठ, #स्वोस्तिका चाम्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com