किर्ते प्राध्यापक उपकुलपति डा. गिरी: सरकार मिलाए अख्तियार मिनाउन सकेनन्


काठमाडौं । अन्ततः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

किर्ते प्राध्यापक गिरीमाथि भ्रष्टाचार मुद्दा लाग्नु पर्ने तथ्य खुलास भएको डेढ वर्षपछि बल्लतल्ल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्न ढिला गर्दा किर्ते प्राध्यापक गिरीले वीपीमा बसेर सुविधा खान र प्रतिष्ठान थप धरासायी बनाउन भूमिका खेल्न पाए । उनको कार्यकालमा वीपी प्रतिष्ठान अधोगतितर्फ लाग्यो ।

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा वीपी प्रतिष्ठानको उपकुलपति बनेका गिरी नियुक्ति हुँदा देखि नै विवादमा आए ।

नेपाली कांग्रेस निकट रहेका डा. गिरी एमालेका मन्त्री रिझाएर वीपी प्रतिष्ठानको उपकुलपति बन्न सफल भए । सुरुमा प्रा.डा. ज्ञानेन्द्र गिरी लेख्दै आएका गिरीले सरकारले प्रमाण खोजेपछि प्रा. छाडेर डा. लेख्न छाडे । यो प्रकरणबाटै गिरीको प्राध्यापक पद किर्ते रहेको प्रस्ट भइसकेको थियो । तर उनले विभिन्न च्यानल प्रयोग गरेर अख्तियार मिलाउन लागिपरेको खुलेको थियो ।

शेर बहादुर देउवा नेतृत्वको सरकारले वीपी प्रतिष्ठान धरासायी बनाउने गिरीमाथि छानबिन समिति नै गठन गर्‍यो । समितिले कारबाही गर्न सिफारिस गरेपछि प्रतिवेदन गुपचुप पारियो । कारण तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेको ओपन सेक्रेट जस्तै छ ।

तत्कालीन मन्त्री कार्की र प्रदेश सांसद विन्दिया कार्की किर्ते प्राध्यापक गिरीलाई जोगाउन लागेपछि तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडा समेत लाचार बने । उल्टै गिरीलाई काम गर्न सहज वातावरण बनाउन बाध्य भएको घटना क्रमले देखाउँछ ।

खतिवडापछि मन्त्रीको जिम्मेवारी पाएका  भवानी प्रसाद खापुङले गिरीलाई साइजमा ल्याउछन् र कारबाही गर्छन् भन्ने वीपीका धेरै चिकित्सकको आशा थियो । तर उनी त उल्टै मतियार बने । त्यसको प्रमाण तत्कालीन स्वास्थ्य मन्त्री खापुङका गतिविधि र उनका स्वकीय सचिव भविश्वर लिम्बु वीपी प्रतिष्ठानको प्रेस सल्लाहकार बन्नु हो ।

लिम्बुले मन्त्रालयबाट गिरीलाई जोगाउन र बजेट निकास गर्न भूमिका खेलेको पुरस्कार वीपीको प्रेस सल्लाहकार हो भन्ने स्वास्थ्य क्षेत्रमा व्यापक चर्चा छ । स्वास्थ्यमन्त्री एमाले कै पदम गिरी बनेपछि किर्ते प्राध्यापक उपकुलपति डा. गिरी प्रतिकूल अवस्थामा केही भएन अब सरकारबाट केही हुन्न भन्दे हिँड्न थालेका थिए । अख्तियार त पहिला नै मिलाएको उनको दाबी थियो । तर उनीमाथि सोमबार मात्रै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

किर्ते प्राध्यापक उपकुलपति डा. गिरीमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि उनले सरकार मिलाएपनि अख्तियार मिलाउन नसकेको प्रष्ट हुन्छ ।

यस्तो छ अख्तियारको विज्ञप्ति

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र डा. ज्ञानेन्द्रमान सिंह कार्कीसमेत २ जना उपर नपाएको ओहदा पाएको भन्ने सम्बन्धी आरोप-पत्र दायर ।

प्रेस विज्ञप्ति:- मिति २०७९।१०।०९ गते ।

—————————————————-

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नपाएको ओहदा पाए भनी पदीय मर्यादा विपरीत कार्य गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डा. ज्ञानेन्द्र गिरीले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस्‍ भनी बदनियतसाथ कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदावी लिइएको छ।

साथै प्रतिवादी डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. ज्ञानेन्द्र गिरीलाई प्रोफसर पदको अनुमोदनको लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा निजले नियुक्ति दिएको आधारमा प्रतिवादी ज्ञानेन्द्र गिरीले नपाएको ओहदा प्रयोग गरेको र उक्त कार्यमा निज ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका रहेको देखिएको हुनाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्ने ।

 प्रवक्ता

श्याम प्रसाद भण्डारी

 

 

क्याटेगोरी : मेडिकल शिक्षा, सुशासन
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com