कोरोनाकालमा भूमाफिया चाम्लिङले जग्गा हडपेको विषय अख्तियारले खोज्यो, वडा कार्यालय मौन


काठमाडौं । कोरोनाकालमा देवीनगरका भूमाफिया इन्द्रकुमार चाम्लिङले सरकारी जग्गा हडपेको विषय अख्तियारले खोजेको छ ।

अख्तियारले काठमाडौं महानगरपालिका भूमाफिया चाम्लिङले हडपेको जग्गाको प्रतिवेदन मागेको हो । तर, काठमाडौं महानगरपालिका र १० नम्बर वडाका वडाध्यक्ष रामकुमार केसी अख्तियारले काटेको पत्रको विषयमा मौन छन् ।

स्वास्थ्य लाइभमा भूमाफिया चाम्लिङले देवीनगरको सरकारी जग्गा हडपेर संरचना बनाई भाडा खाएको समाचार प्रकाशित गरेपछि अख्तियारले तत्काल चासो देखाएको थियो । अख्तियारले उक्त विषयमा वडा कार्यालयलाई पटकपटक ताकेता गरेको छ । तर, वडा कार्यालयले कुनै प्रतिक्रिया नपठाएपछि अख्तियारले फेरि पत्र काटेको हो ।

अख्तियारले काठमाडौं महानगरपालिका वडा नम्बर १० को सिट नम्बर १०२-११०६-२२ को कित्ता नम्बर ६५, ६६, १९१, ४३०, ५४९, ५५२, ५५३, ७७१ र ७७२ को सार्वजनिक जग्गा हडपेर १० वटा सटर निर्माण गरी भाडा खाएको भन्ने विषयमा जवाफ मागेको छ । नापी को प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय जनताको रोहबरमा फिल्ड प्रतिवेदनसहितको राय प्रतिक्रिया अख्तियारले मागेको हो । वडा कार्यालयले भने उक्त पत्र थन्क्याएर राखिदिएको छ ।

 

स्वास्थ्य लाइभले समाचार प्रकाशित गरेपछि काठमाडौं महानगरपालिकाले भूमाफिया चाम्लिङले हडपेका केही अनधिकृत संरचना भत्काएको छ । तर, मुख्य संरचनाहरु भने भत्काउन नहुने पक्षमा वडाध्यक्ष रामकुमार केसी रहेको स्थानीयको आरोप छ ।

अख्तियारले पटकपटक ताकेता गर्दा पनि चाम्लिङले अनधिकृत बनाएका मुख्य संरचना नछुनेले स्थानीयले लगाएको आरोपमा बल पुगेको छ । सरकारी उल्लेख कित्ता नम्बर १९१ को केही भाग र ५७७ मा भूमाफिया चाम्लिङले ८ तले टावर बनाएका छन् । भर्‍याङलगायतका मुख्य भाग सरकारी जग्गामा बनाएपनि त्यसै छाडिएको छ । ५७७ नम्बर कित्ता पनि रावल आयोगको प्रतिवेदनमा सार्वजनिक रहेको छ ।

भूमाफिया चाम्लिङले ५७७ नम्बर कित्ताको सार्वजनिक जग्गा पनि दुषित दर्ता गरेको पाइन्छ । त्यस्तै ४३० नम्बर कित्ताको सरकारी जग्गा पनि भूमाफिया चाम्लिङले दुषित दर्ता गरेर प्रेम आचार्यलाई बेचेको देखिन्छ । यो विषयमा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यथाशीघ्र छानबिन गर्न जरुरी छ ।

क्याटेगोरी : सुशासन
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #काठमाडौं महानगरपालिका, #धोबीखोला देवीनगर, #भूमाफिया इन्द्र कुमार चाम्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com