स्वास्थ्य मन्त्री गिरी र डब्लुएचओका महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता


स्वीजरल्याड । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हनोम घब्रेयसुसबीच भेटघाट भएको छ ।

बिरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीजरल्याण्ड पुगेका मन्त्री गिरीले भेटको क्रममा विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको लागि धन्यवाद दिए ।

विशेष गरी पोलियोलगायत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मुलनमा खेलेको योगदानका साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि मन्त्री गिरीले धन्यवाद दिए ।

भेटमा २०७२ सालको भूकम्प, हैजाको प्रकोप, कोभिडविरुद्धको खोप नेपालका लागि उपलब्ध गराउन खेलेको भूमिकाको लागि समेत मन्त्री गिरीले धन्यवाद व्यक्त गरेका थिए ।

मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रतिजैविक औषधीको प्रतिरक्षा प्रणालीलगायत हाल भैरहेका गतिविधिहरू विस्तार र आपसी सहकार्य समन्वयमा गर्ने कुरा राखेका थिए ।

विश्व स्वास्थ्य सङ्गठनका समन्वय सेन्टरहरू निर्माण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वनका लागि मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगका कुराहरूमा पनि भेटमा छलफल भएको मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com