पोलिक्लिनिकलले बिरामी आकर्षित गर्न डा. सिंहलाई टिचिङ अस्पतालमा कार्यरत रहेको जनाएपछि ..


काठमाडौं । धादिङस्थित नीलकण्ठ पोलिक्लिनिकलले बिरामी आकर्षित गर्न डा. धनञ्जय सिंहलाई टिचिङ अस्पतालमा कार्यरत रहेको जनाएको छ । टिचिङ अस्पतालको रेकर्डमा नरहेका डा. सिंहलाई उक्त अस्पतालमा कार्यरत रहेको भनेर विज्ञापन गरेपछि उनी विवादमा तानिएका हुन् ।

हाल कलंकीस्थित नेपाल नेसनल अस्पतालमा कार्यरत नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. सिंहलाई नीलकण्ठ पोलिक्लिनिकलले टिचिङ अस्पतालमा कार्यरत रहेको जनाएको छ ।  नीलकण्ठ पोलिक्लिनिकका सञ्चालक डा. रामचन्द्र रिजाल डा. सिंहसँगै सोधेर टिचिङ अस्पताल लेखेको दाबी गर्छन् । डा. धनञ्जय सिंहसँगै सोधेर टिचिङ अस्पताल लेखेको हो अरु कुरा थाहा भएन’, डा. रिजालले स्वास्थ्य लाइभसँग भने ।

यता डा. सिंह आफूले पूर्व टिचिङ अस्पताल लेख्न भनेको दाबी गर्छन् । ‘करिब २ हप्ता करारमा टिचिङ अस्पतालमा काम गरेको हुँ, घरायसी कामले गर्दा राजीनामा दिएर हिँडेको हुँ सबैतिर पूर्व टिचिङ अस्पताल लेख्न भन्दै आएको छु’, उनले भने ।

डा. धनञ्जय सिंहले २०७६ साल पुष २१ गते शिक्षण अस्पतालमा करार सेवाको एक नम्बरमा नाम निकालेको देखिन्छ । त्यसपछि उनले नियुक्ति गरेर काम गरेको विषयमा स्वास्थ्य लाइभले खोजी गर्दा अस्पताल प्रशासनले उपलब्ध गराउन सकेन । स्वास्थ्य लाइभले नियुक्ति पत्र माग्दा सिंहले आफूसँग नभएको तर, नियुक्ति लिएरै काम गरेको जिकिर गरे । यो विषयमा स्वतन्त्र पुष्टि हुन बाँकी नै छ ।

डा. सिंहका अनुसार टिचिङको करारमा करियर नदेखेर राजीनामा दिएर हिँडेका हुन् ।  नीलकण्ठ पोलिक्लिनिकका बिरामी पनि नहेरेको उनको स्पष्टोक्ति रहेको छ । नेपाल मेडिकल कलेजबाट बालरोग विशेषज्ञ बनेको दाबी गर्ने डा. सिंह केही समय ब्लू क्रस अस्पतालमा पनि काम गरेको सुनाउँछन् ।

आफूलाई गरी खान शिक्षण अस्पतालको नाम बेच्न नपर्ने डा. सिंहको तर्क छ । उनले  शिक्षण अस्पतालको नाम बेच्न नपर्ने बताएपनि धादिङको नीलकण्ठ पोलिक्लिनिकलले डा. सिंह र शिक्षण अस्पतालको नाम बेचेको देखिन्छ । यो विषय गम्भीर भएको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारी बताउँछन्।

नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को दफा २२ मा चिकित्सकले आफ्नो नाम चलाउने वा धन कमाउने उद्देश्यले कुनै परिचय पाटी वा प्याडमा आफ्नो नाम, पाएको डिग्री डिप्लोमा र कुनै पद पाएको छ भने त्यो बाहेक अरु कुनै कुरा लेख्न नपाउने उल्लेख छ । त्यो आचार संहिता उल्लंघन गरे काउन्सिलले उल्लंघन गर्ने चिकित्सकमाथि चलाइ निजको नाम रजिष्टरबाट हटाउन रजिष्ट्रारलाई आदेश दिनेछ भन्ने व्यवस्था छ ।

रजिष्ट्रार डा. अधिकारीका अनुसार नभएको संस्था र पद लेखेको पुष्टि भए सम्बन्धित चिकित्सकको नाम रजिष्टरबाट हटाउन सकिन्छ । यो विषयमा सम्बन्धित निकायले छानबिन गर्न आवश्यक देखिन्छ ।

 

 

 

क्याटेगोरी : सुशासन
ट्याग : #डा. कृष्ण अधिकारी मेडिकल काउन्सिल रजिष्ट्रार, #डा. धनञ्जय सिंह, #निलकण्ठ नगरपालिका, #नेपाल मेडिकल काउन्सिल, #शिक्षण अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com