नेपालीले भोग्नुपरेका समस्याका विषयमा छलफल गर्न अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन


अमेरिकामा पहिलो अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुँदैछ । सर्वप्रथम त हामीले पहिलोपटक यस किसिमको सम्मेलनको आयोजना गर्न लागेका हौं । उक्त सम्मेलन मे २७ देखि २९ सम्म अमेरिकी क्षेत्र टेक्सासको डलासमा हुनेछ ।

हामीले अमेरिका नै किन रोज्यौ भन्ने कुरा पनि छ । यस क्षेत्रमा अमेरिका, क्यानडा, नर्थ अमेरिका र साउथ अमेरिकामा छरिएर रहेका विभिन्न स्वास्थ्य पेशामा आवद्ध र काम गर्ने नेपाली मुलका स्वास्थ्यकर्मीलाई एक ठाउँमा भेला गराउँनु हाम्रो पहिलो दायित्व हो ।

अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलनले क्षेत्रमा अमेरिका नेपालीहरूको अनुभव आदानप्रदान र काम गराईको विषयमा भोग्नुपरेका विभिन्न विषयमा छलफल हुनेछ । अर्को भनेको विदेशमा बस्ने वा नेपालमै बसेर पनि के गर्न सकिन्छ भनेर योजना बनाउनका लागि पनि सम्मेलनको आयोजना हुन लागेको हो ।

हामीसँग धेरै संस्थाहरू छन् । जसले विभिन्न कामहरू गर्दै आएका छन् । अमेरिकामा बिरामी पर्दादेखि मर्दापर्दा हस्ताक्षर गर्नेदेखि विभिन्न सेवामुलक काम गरिरहेका छन् । सेवामुलक काम गरेपनि सबैसँग भेटघाट हुन सकेको छैन । यो सम्मेलन यस कारणले पनि जरुरी थियो, जसले सबैलाई एकिकृत गराउँने छ ।

देशबाट विदेशमा सहयोग गर्ने र विदेशबाट स्वदेशमा सहयोग गर्दाको अनुभव, भोग्नुपरेका चुनौती, सरुवा रोगबारे जनचेतना फैलाउनेदेखि हरेक कामको बारेमा यहाँ घनिभुत छलफल हुनेछ । हामीले अमेरिका र नेपालमा भएका नेपालीको आत्मियता र सहयोगलाई टाँढा हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या सचिवलाई समेत निमन्त्रणा गरेका छौं ।

त्यस्तै अमेरिका र आसपासका क्षेत्रमा कति नेपाली स्वास्थ्य सेवामा आवद्ध छन् भन्ने तथ्याङ्क सङ्कलन गर्नुपनि सम्मेलनको उदेश्य हो । हाम्रो सामथ्र्य के हो ? हाम्रा आगामी चुनौतीहरू के के छन् ? बढ्दो मानसिक स्वास्थ्यको समस्या र समाधानको विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।

अमेरिकामा भएका स्वास्थ्यकर्मी वा नेपालमा भएका स्वास्थ्यकर्मी र राज्य संयन्त्रसँग कसरी सहकार्य र समन्वय हुनुपर्छ भन्ने कुरा विगत कोरोना महामारीको समयमा घाँम झै छर्लङ्ग भएको छ । कोरोना कालमा सुरुका ३/४ महिनासम्म नेपाल साम्य भयो । विश्वका अन्य मुलुकमा कोरोनाले अवस्था गम्भीर बन्दै गएको बेला नेपालमा भने त्यति धेरै प्रभाव परिसकेको थिएन ।

कोरोना सबैका लागि नयाँ र चुनौती पनि थियो । सङ्क्रमण रोग विशेषज्ञ भएकाले मैले धेरै कुरा जान्ने बुझ्ने मौका पाए । त्यस्तो अवस्थामा यो रोगबाट कसरी जोगिने, कस्ता खालका सुरक्षा कवज लगाउने, कतिदिन आईसीयूमा बिरामीलाई राख्ने जस्ता विभिन्न विषयमा अध्ययन अनुसन्धान गरेर जान्ने बुझ्ने मौका पाए । आफूले बुझेका जानेका कुराहरू नेपालमा रहेका हाम्रो चिकित्सक साथीभाईहरूसँग साझा गर्न पाए । सरकारदेखि निजी अस्पतालहरूसँग पनि समन्वय गरेको थिए ।

त्यतिमात्रै होइन सन् २०२० मा ग्राण्डी अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मीरूसँग पीपीई के हो ? कसरी उपचार गर्ने लगायतको विषयमा करिब २ घन्टा लामो छलफल गरेको थिए । उहाँहरूलाई आफूसँग भएका ज्ञान बाँड्ने काम गर्ने र कसरी हुन्छ समन्वय गरेको थिए । सायद नेपालमा कोरोना बारे सचेत गराउँने नेपालमा म पहिलो व्यक्ति थिए होला !

नेपाल सरकारले कोरोना भाइरस परीक्षणका लागि एन्टिजेन किट चीनबाट ल्याउने कुरा गरेको थियो । त्यतिबेला हामीले अमेरिकाबाटै लविङ गर्यौं । कस्तो खालको परीक्षण गर्ने ? कस्तो परीक्षण गर्दा राम्रो हुन्छदेखि लिएर उपचारको विधि के के हुन सक्छन् लगायतका विषयमा पनि सल्लाह सुझाव दिने काम गर्यौं । साथै अक्सिजन सिलिन्डर पठाउनेदेखि लिएर अक्सिमिटर पठाउनेसहितका अन्य स्वास्थ्य सामग्री पठाउने, कुन औषधिले उपचार गर्दा ठिक हुन्छ जस्ता विभिन्न विषयमा छलफल र समन्वय भयो ।

कोरोना महामारी नियन्त्रणका लागि कस्तो निती बनाउने ? उपचारका लागि कुन विधि प्रक्रिया प्रभावकारी हुँदैछ ? आज के नयाँ छ ? लगायत विभिन्न विषयमा हामी प्रायः दिनभर जसो छलफलमै हुन्थ्यौं । त्यसैले विभिन्न चरणमा व्यक्तिगत, संस्थागत कसरी हुन्छ आफ्ना अनुभवहरू सुनाउने, विश्वका कुन मुलुकमा कस्तो अभ्यास भइरहेको छ लगायत विभिन्न तरिकाले आफ्ना कुरा साझा गर्ने काम गरेका थियौं । चाहे त्यो सरकारी होस् वा गैर सरकारी संस्था होस् हामीले सबैसँग समन्वय गरेका थियौं ।

त्यहि भएर आगामी दिनमा पनि कसरी समन्वय गर्न सक्छौं, के गर्दा सबैको स्वास्थ्य सेवामा पहुँच हुन्छ, कसरी कमीकमजोरीलाई हटाउन सकिन्छ, नीतिगत तर्फ के गर्न सकिन्छ जस्ता विषयमा छलफल गरेर निचोड निकाल्न र त्यसै आधारमा समन्वय गर्न हामी तयार छौं । यो सम्मेलनबाट पनि हाम्रा केही निर्णयहरू आउँनेछन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, विचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com