जब एकाबिहानै बानेश्वरका युवा हातमा झाडु लिएर निस्किए..


काठमाडौं । स्वास्थ्य र सरसफाई एकअर्काका परिपूरक हुन् । स्वास्थ्य जीवनशैलीका लागि सरसफाई अत्यावश्यक कुरा हो । तर, धेरै घर-टोलमा सरसफाई भएको देखिँदैन ।

काठमाडौंको नयाँ बानेश्वरको नयाँ मार्ग टोल विकास समितिमा भने अलि फरक दृश्य देखिएको छ । शनिबार एकाबिहानै उक्त टोलका युवाहरू हातमा झाडु लिएर आफ्नो टोल सरसफाईमा जुटे । यसले युवा बर्गमा आफ्नो घर-टोल सफा सुग्घर राख्नुपर्छ भन्ने सन्देश दिएको छ ।

काठमाडौंमा फोहोरका कारण पछिल्लो समय डेंगीलगायत विभिन्न संक्रामक रोग फैलिरहेका छन् । स्वास्थ्य मन्त्रालयले यसलाई मध्यनजर गर्दै हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट अभियान संचालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयहरुले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान अनिवार्य सञ्चालन गर्न अनुरोध गरेको छ । नयाँ बानेश्वरका युवाले भने यो कुरा सुरु गरिसकेका छन् ।

बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा टोल-टोलमा सरसफाई अभियान चलाउने विषयमा छलफल गर्दै अगाडि बढेका छन् । उनको चासो स्वास्थ्य, सरसफाई र प्रदुषण नियन्त्रणमा केन्द्रित छ । उनकै निर्वाचन क्षेत्रका युवाहरू हातमा झाडु लिएर घर-टोल सरसफाई अभियान हिँडेपछि सांसद श्रेष्ठ उत्साहित छन् । यस्ताे सरसफाई अभियान कार्यक्रम सबै टोलमा सञ्चालन हुनुपर्नेमा उनको जोड छ ।

आफ्नो टोल आफै सफा गरौं भन्ने अभियान लिएर अगाडि बढेका युवालाई नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुईटेलले पनि हौसला थप्ने काम गरेका छन् ।टोलबासीको अग्रसरता र वडा कार्यालयको सहयोगले सफा र सुरक्षित टोलको रुपमा स्थापित भएको भन्दै उनले राम्रो काम सिक्नु पर्ने र व्यवहारमा लागू गर्नुपर्ने प्रतिक्रिया जनाएका छन् ।

यता प्रदेश सांसद श्रेष्ठले प्रदुषण नियन्त्रण तथा रोकथामका लागि विज्ञहरूसँग र सरसफाईका लागि टोल विकास समितिहरूसँग छलफल र सहकार्यको प्रस्ताव गरेका छन् । यसले प्रदुषण र फोहोर व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

क्याटेगोरी : समाचार
ट्याग : #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद, #नयाँ बानेश्वर, #नयाँ मार्ग टोल विकास समिति, #नवीन लुईटेल, #सरसफाई अभियान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com