अब बेवारिसे शवको विवरण प्रहरीको वेबसाइटमा हेर्न सकिने


काठमाडौं ।अब बेवारिसे शवको विवरण प्रहरीको वेबसाइटमा हेर्न सकिने भएको छ । नेपाल प्रहरीले वेबसाइटमार्फत त्यस्ता शवको विवरण हेर्न सकिने व्यवस्था मिलाएको हो ।

udb.nepalpolice.gov.np डोमेन भएको बेवसाइटमा ‘पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण’ हेर्न सकिने व्यवस्था मिलाएको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ‘पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण’ राखिएको उक्त वेेबसाइट औपचारिक रुपमा उद्‌घाटन गरेका छन् ।  नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त वेबसाइट उद्‌घाटन गरेका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले निर्माण भएको वेबसाइटको सुरक्षाको साथसाथै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताउँदै यसमा कुनै पनि समस्या नआउने गरी प्रभावकारी रूपमा संचालन गरिने धारणा राखे ।

वेबसाइटमा भएको विवरणलाई धेरैभन्दा धेरै सरोकारवाला व्यक्तिहरूको पहुँचमा पुर्‍याई बढीभन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरू सनाखत गर्न सहज र सक्षम हुने उनको विश्वास छ ।

‘नागरिकस्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेबसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्नुपर्छ ।’, प्रहरी महानिरीक्षक कुँवरले भने

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी वेवारिसे शवहरूको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवहरूको विस्तृत विवरणसहित छुट्टै वेबपेज निर्माण गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको २०७८ वैशाख २ गतेको निर्णय थियो । उक्त निर्णय  बमोजिम नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको पहलमा पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण समेटि सम्पूर्ण विवरण एकै ठाउँबाट जानकारी लिन सकिने तथा कसैले व्यक्तिको पहिचान गरेमा आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्ने गरी वेबसाइट निर्माण गरेको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com