स्वास्थ्यका खरिदमा अख्तियारको निगरानी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि तथा उपकरण खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाउन थालेको छ । अख्तियार उच्च स्रोतका अनुसार स्वास्थ्यबाट हुन लागेको पछिल्लो खरिदमा भ्रष्टाचारको गन्ध आउन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको दबावमा खरिदसम्बन्धी टिप्पणीमा हस्ताक्षर गर्ने विषयमा सरुवासम्मको चर्चा अख्तियारमा चल्न थालेको छ । स्वास्थ्य मन्त्रालयको कानुन अधिकृत रेशराज शर्माको पर्यटन मन्त्रालयमा सरुवा भएपछि स्वास्थ्यभित्रको गडबडी गन्धसम्म पुगेको हो ।

तत्कालीन कानुन अधिकृत रेशराज शर्मालाई खरिद प्रक्रिया अगाडि बढाउन मन्त्रीले दबाव दिएपछि उनी अत्तालिएर सरुवा माग्दै कानुन मन्त्रालय पुगेका थिए । त्यसपछि उनको ठाउँमा श्यामप्रसाद श्रेष्ठलाई पठाएको हो । कानुन मन्त्रालय स्रोतका अनुसार सुरुमा स्वास्थ्यमा कानुन अधिकृत फेर्न नमानेका कानुनमन्त्री धनराज गुरुङले पछि श्यामलाई पठाउने निर्णय गरेका हुन् । श्याम र धनराज दुबै स्याङजाली हुन् ।

स्वास्थ्य मन्त्रालयले गर्न लागेको खरिदमा ठूलो मिलोमतो र अनियमितता हुन लागेको अहिले सिंहदरबार र टंगालसम्म चर्चा छ । शर्मा र श्रेष्ठ दुबैजना जिल्ला न्यायाधीशमा नियुक्त भइसकेका छन् । तर, उनीहरूको सरुवाक  प्रसंग सेलाएको छैन । स्वास्थ्यका तत्कालीन कानुन अधिकृत शर्माले किन अपर्झट सरुवा मागेर हिँडे त्यसको कारण खोज्दै खरिदको निगरानी बढाएको अख्तियारले थप पुष्टि गर्ला । स्वास्थ्यको खरिदमा ठूलै बदमासी हुँदैछ भन्ने कुरा भने ओपन सेक्रेट जस्तै भएको छ ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com